
विराटनगर । विराटनगरमा जारी ३८ औँ विराट गोल्डकपको उपाधिका लागि पूर्वविजेता झापा ११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब शनिबार खेल्दै छन् । तेस्रो पटक फाइनल पुगेको झापाले एक पटक उपाधि जितेको छ । सम्राट पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै फाइनलमा पुगेको हो ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । झापा दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई नै हराएर उपाधि जितेको थियो भने ०७२ सालमा पुलिससँग फाइनलमा पराजित भएको थियो ।
यस पटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।
पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राटले उच्च मनोबलका साथ फाइनलमा पुगेको छ । उसले क्वाटर फाइनलमा पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्टस एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ कै गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए । ‘पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठुलो उपलब्धि हो,’ चौधरीले भने, ‘झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रूपमा उत्कृष्ट छन् । घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्ने छौँ ।’ उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारी समेत दिए ।

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए ।
झापा ११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा र प्रशिक्षकका रूपमा यो प्रतियोगिताको उपाधि जितेको बताए । यस पटक पनि उपाधि जित्ने बताएका खड्काले, ‘म आफैँले यही मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ । अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्याउन चाहन्छु । हामीसँग तीन जना विदेशी खेलाडी छन् । सम्राटलाई हामीले कमजोर ठानेका छैनौँ । उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन् । त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ ।’ शनिबार हुने फाइनल खेलमा दर्शकहरूको व्यापक उपस्थिति हुने विश्वास लिएको उनले बताए ।
झापाका कप्तान पुजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गरे ।
चैत २८ देखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो । शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।



















