साबिक विजेतालाई स्तब्ध पार्दै युवा समाज उपाधिनजिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:१६

सुनसरी । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले स्तब्ध पार्दै युवा समाज मोरङ प्रतियोगिताको उपाधिनजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

Advertisement

टाइब्रेकरमा दुवै टिमबाट ४–४ गोल भएपछि खेल निर्णय लिन सडेनडेथसम्म पुग्न पर्यो । सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन् । त्यसपछि निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछि युवा समाज उपाधि होडमा पुगेको हो ।

त्यसअघिको टाइब्रेकरमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देवेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो ।

त्यसअघिको निर्धारित समयको १३ औं मिनेटमा मछिन्द्रका प्रदीप बुढाथोकीले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सौरव लिम्बूले प्रहार गरेको बललाई उनले हेडमार्फत गोल गरेका थिए ।

१६ औं मिनेटमा प्रदीपलेनै थप अर्को गोल गरेपछि मछिन्द्रले २–० को अग्रता लिएको थियो । गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल पोष्ट लाइनमै रहेका विपक्षी डिफेन्डरले क्लियर गर्न सकेनन् ।

२२ औं मिनेटमा युवा समाजका जन्मजय धामीले गोल फर्काएपछि खेल २–१ को अवस्थामा आयो । पदम भटराईले दिएको पासलाई कमजोर डिफेन्सलाइनको फाइदा उठाउँदै धामीले बललाई पोष्टको दिशा दिएका थिए ।

पहिलो हाफको अन्तिम तीन मिनेटको अतिरिक्त समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछि खेल २–२ को बराबरीको अवस्थामा आयो । सृजनराज गौतमले दिएको लामो पासलाई डंगोलले टाउकोले आकर्षक गोल गरे ।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिए पनि मध्यान्तरपछिको २४ औं मिनेटमा पदम भटराईले गोल गरेपछि मोरङको टोली ३–२ को अग्रतामा पुग्यो । तर, अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जितका लागि सडनडेथसम्म पुग्न पर्यो ।

मध्यान्तरपछिको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा देवेन्द्र तामाङले गोल फर्काएपछि खेलको निर्धारित समय ३–३ को बराबरीमा सकियो । खेलको ‘प्लेयर अफ दी म्याच’ मोरङका पदम भटराई घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

शनिबारको अन्तिम सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाडौंबीच खेल हुनेछ । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको खेलको फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । फाइनल खेल वैैशाख ७ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.