झापा–११ विराट गोल्डकप च्याम्पियन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०६:२६

विराटनगर । चर्चित टोली झापा–११ विराटनगरमा सम्पन्न ३८औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ च्याम्पियन बनेको छ ।

आफ्नो उपस्थितिलाई सशक्त रहेको सन्देश दिँदै सशस्झापा–११ ले दोस्रोपटक उपाधि रक्षा गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबमाथि २–१ गोलअन्तरले हाबी हुँदै झापाले उपाधि उचालेको छ ।

Advertisement

खेलको सुरुवातदेखि नै दुवै टोलीले सावधानीपूर्वक खेल प्रस्तुत गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरी हुँदा दुवै पक्षले केही सुनौला अवसर गुमाए । सम्राटका सुरज तामाङको १६औं मिनेटको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दा खेलमा रोमाञ्चकता थपिएको थियो । त्यसपछि झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिँदा पहिलो हाफ गोलविहीन अवस्थामा टुंगियो ।

मध्यान्तरपछि भने झापा थप आक्रामक देखियो । लगातार दबाब सिर्जना गरिरहेको झापाले अन्ततः खेलको ८१औं मिनेटमा सफलता पायो । गोलरक्षक विशाल सुनारको लामो पासलाई सदुपयोग गर्दै राजेश दाहालले आकर्षक गोल गरेपछि झापा अग्रता लिन सफल भयो । यो गोलले खेलको दिशा नै परिवर्तन गरिदियो ।

अग्रता लिएको झापाले त्यसको ६ मिनेटपछि फेरि अर्को प्रहार गर्‍यो । फागुराम थारूको सटिक पासमा दिवस उराउले गोल गर्दै झापाको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काउँदै अन्तर घटाए पनि त्यसले परिणाममा कुनै प्रभाव पार्न सकेन ।

जितसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पार्दा उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा सन्तोष मान्नु पर्‍यो । यसअघि झापाले २०७१ सालमा नेपाल आर्मीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

व्यक्तिगत पुरस्कारतर्फ पनि झापाकै वर्चस्व देखियो । राजेश दाहाल ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ प्राप्त गर्न सफल भए । प्रतियोगिताभर ३ गोल गरेका फागुराम थारू सर्वाधिक गोलकर्ता बने । झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जहदी १५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

यद्यपि, उपाधि झापाले जिते पनि सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५१ हजार रुपैयाँ हात पार्न सफल भए । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.