
झापा । भद्रपुरमा जारी ‘चन्द्रगढी महिला गोल्डकप’ मा आयोजकलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पुलिसले आयोजक चन्द्रगढी युवा क्लबलाई ६—० को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाइ स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ ।
पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो ।
खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् । पुलिसका लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सबनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।
खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गरिन् । पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्को गोल थपिन् ।
रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । मिना देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् ।
चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा विष्टले पोस्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउने छ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने छन् ।



















