इटहरी गोल्डकप मोरङलाई

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार ०६:३३

इटहरी । मोरङको गछियास्थित युवा समाज क्लबले पहिलो सहभागितामै इटहरी गोल्डकपको १६औं संस्करणको उपाधि जितेको छ ।

इटहरी रंगशालामा सोमबार राति सम्पन्न फाइनल खेलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दै मोरङले ऐतिहासिक सफलता हात पारेको हो । खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो ।

Advertisement

निर्धारित समय सकिनै लाग्दा मोरङले निर्णायक गोल गर्यो । खेलको ८७औं मिनेटमा दोर्जे तामाङले गरेको एक मात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।

रामवाजीले प्रहार गरेको कर्नर बल प्लानिङका डिफेण्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरेका हुन् । उनी फाइनल खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रूपैयाँ हात पार्न सफल भए ।

धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको विजेता समेत रहेको प्लानिङ ब्वाइजलाई दबाबमा राख्दै मोरङले अन्तिम समयसम्म संयमित खेल प्रस्तुत गरेको थियो । जितसँगै मोरङले ट्रफीसहित १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए ।

मोरङका विशाल सुनार उत्कृष्ट गोलरक्षक, सुजन डंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारु सर्वाधिक गोलकर्ता भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय जागृति क्लबका युजन राई उदीयमान खेलाडी बने । उनले ३२ इञ्चको एलईडी टिभी पुरस्कार पाए । अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

पहिलो सेमिफाइनलमा मोरङले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.