सर्वोच्च अदालत तीन सातादेखि प्रधान न्यायाधीशविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ०७:३८
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । मुलुकको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा पुगेको तीन साता नाघिसक्दा पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।

संवैधानिक परिषद् बैठक आह्वान नहुँदा नियुक्ति प्रक्रिया अलपत्र परेको हो । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत चैत १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि चैत १८ गतेदेखि उक्त पद रिक्त छ । त्यसयता परिषद् बैठक नबस्दा सर्वोच्च अदालत कामु प्रधान न्यायाधीशको भरमा सञ्चालन भइरहेको छ ।

Advertisement

अहिले सपना प्रधान मल्ल कामु प्रधान न्यायाधीश छन् । प्रारम्भमा परिषद् बैठक आह्वान नहुनुको कारणका रूपमा संसदीय सुनुवाइ समिति गठन नभएको र संवैधानिक परिषद्का सबै पदेन सदस्य चयन नभइसकेको बताइएको थियो । तर, अहिले सुनुवाइ समिति गठन भएर सभापति समेत चयन भइसकेका छन् भने परिषद्मा एक सदस्य मात्र चयन हुन बाँकी छ । यति हुँदाहुँदै पनि बैठक आह्वान हुन सकेको छैन ।

परिषद्का सदस्यसचिव तथा नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले अहिलेसम्म बैठक नबोलाइएको पुष्टि गरेका छन् । जसका कारण नियुक्ति प्रक्रियामा अनावश्यक ढिलाइ भइरहेको छ ।

नयाँ प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले गत फागुन २१ गते नै सर्वोच्च अदालतका ६ जना वरिष्ठ न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरिसकेको छ । सिफारिस सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । वरिष्ठताको आधारमा गरिएको यो सिफारिस संविधान र कानुनअनुसारको नियमित प्रक्रिया हो ।

न्याय परिषद् ऐन, २०७३ ले सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सोहीअनुसार सिफारिस भए पनि संवैधानिक परिषद्को निष्क्रियताले प्रक्रिया अघि बढ्न सकेको छैन ।

नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् ६ सदस्यीय हुन्छ । परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । हाल प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता चयन हुन बाँकी छ ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख रुबीकुमारी ठाकुर सदस्यका रूपमा छन् । प्रमुख प्रतिपक्षी दलका नेता चयन नभएकै कारण बैठक ढिलाइ भएको देखिए पनि अन्य संरचनात्मक तयारी पूरा भइसकेको अवस्थामा पनि बैठक नबोलाइनु प्रश्नको विषय बनेको छ ।

संविधानले प्रधान न्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने परिषद् बैठकमा कानुन तथा न्याय मन्त्रीलाई सदस्यका रूपमा सहभागी गराउने व्यवस्था गरेको छ । हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम छिन् ।

प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया अनुसार न्याय परिषद्ले सिफारिस गरेका नाममध्येबाट संवैधानिक परिषद्ले एक जनालाई छनोट गरी संसदीय सुनुवाइ समितिमा पठाउँछ । त्यसपछि सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिन्छ । राष्ट्रपतिले पद तथा गोपनियताको शपथ दिलाएर नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

हाल संसदीय सुनुवाइ समिति गठन भइसकेको छ । यसको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठ निर्वाचित भइसकेका छन् । समितिले काम थालिसकेको भए पनि परिषद् बैठक नबस्दा प्रक्रिया अघि बढ्न नसकेको हो ।

प्रतिनिधिसभामा हाल रास्वपाको बहुमत रहेको छ । बालेन सोही पार्टीबाट प्रधानमन्त्री बनेका छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत पाएको भए पनि संसदीय दलको नेता चयन गर्न बाँकी छ । कांग्रेसले वैशाख ११ गतेका लागि नेता चयन गर्ने निर्वाचन तय गरेको छ ।

संवैधानिक र कानुनी प्रक्रिया पूरा भइसकेको अवस्थामा पनि परिषद् बैठक आह्वान नहुँदा सर्वोच्च अदालतको नेतृत्व रिक्त रहनु राज्यको महत्वपूर्ण निकायमा देखिएको ढिलासुस्तीका रूपमा व्याख्या गर्न थालिएको छ । न्याय प्रणालीको उच्चतम तह लामो समयसम्म कामुको भरमा सञ्चालन हुनु न्याय प्रशासनको प्रभावकारितामाथि नै प्रश्न उठाउने विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.