
विराटनगर । करिब एक दशकअघिसम्म व्यापारिक चहलपहल हुने विराटनगर-८ स्थित हाटखोलाको बुध हटिया कटहरीमा सरेपछि यो जग्गा बेवारिसे र उपयोगविहीन बनेको थियो। कुनै समय फोहोर फाल्ने र खुला शौच गर्ने स्थलका रूपमा चिनिने यो चौर अहिले विराटनगर महानगरपालिका र वडाको सक्रियतामा व्यवस्थित खेल मैदानका रूपमा विकसित भइरहेको छ।
०७९ को स्थानीय निर्वाचनपछि ‘एक वडा, एक खेलमैदान’ को अवधारणा अनुरूप यसलाई खेलमैदानको स्वरूप दिन सुरु गरिएको हो। वडाध्यक्ष राम पोखरेलका अनुसार खाली जमिनलाई व्यवस्थित गर्न स्थानीय युवा, हाम्रो मर्निङ युवा क्लब र महानगरपालिकाले सहकार्य गरिरहेका छन्। मैदान सम्याउन मात्रै एक हजारभन्दा बढी टिपर माटो प्रयोग गरिएको छ।
‘विगतमा यसलाई फोहोर फाल्ने ठाउँका रूपमा हेरिन्थ्यो, तर अहिले स्थानीय युवाहरूको साथले यसलाई सुन्दर मैदान बनाउने प्रयास भइरहेको छ,’ वडाध्यक्ष पोखरेलले भने। उनले कोशी अस्पतालको भवन निर्माण गर्दा निस्किएको माटोलाई समेत मैदान सम्याउन उपयोग गरिएको जानकारी दिए।
मैदानको स्तरोन्नतिका लागि हालसम्म वडाले ४ लाख रुपैयाँ र प्रदेश सरकारले १४ लाख विनियोजन गरेको छ। विनियोजित बजेटबाट एकतर्फ पक्की प्यारापिट निर्माण गरिए पनि बजेट अभावका कारण यो अझै अधुरो छ। मैदानको उत्तरतर्फ थप प्यारापिट र मुख्यद्वार निर्माणका लागि वडाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको छ।
११० मिटर लम्बाइ र ८० मिटर चौडाइ रहेको यो मैदानमा ९ ए साइड फुटबल, हिसान, प्याब्सनका खेलकुद र राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिता सञ्चालन गर्न सकिने बताइएको छ। हाटखोला मर्निङ फुटबल क्लबका अध्यक्ष गोकुल भट्टराईले विराटनगरमा खेलमैदानको अभाव भइरहेका बेला यो मैदान तयार भएपछि सहिद मैदानको चाप घट्ने विश्वास व्यक्त गरे।
अहिले मैदानमा घाँस उम्रन थालेको छ र मुख्यद्वार निर्माणको कार्य अघि बढिसकेको छ। तीनै तहका सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिने हो भने विराटनगरले एउटा स्तरीय र व्यवस्थित खुला मैदान पाउने निश्चित छ।

























