
काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा ओमानले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलका लागि टोलीमा एक परिवर्तन गर्दै ललित राजवंशीको स्थानमा गुल्सन झालाई समावेश गरेको छ । सन् २०२० पछि यी दुई टोली लिग-२ मा पहिलोपटक एक अर्काविरुद्ध भिड्न लागेका हुन् ।
अङ्क तालिकामा ओमान नेपालभन्दा बलियो स्थितिमा छ । ओमान २५ खेलबाट २९ अङ्कका साथ तेस्रो स्थानमा रहँदा नेपाल २१ खेलबाट १४ अङ्क जोड्दै सातौँ स्थानमा खुम्चिएको छ ।
विश्वकप छनोटमा पुग्न बाँकी १५ मध्ये कम्तीमा १२ खेल जित्नुपर्ने दबाबमा नेपाल रहेको छ । जारी शृङ्खलामा शनिबार पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपालका लागि सोमबार ओमान यूएईसँग पराजित हुनु केही राहतको विषय बनेको छ ।
आज ओमानलाई पराजित गर्न सके मात्र नेपालको शीर्ष चारमा पुग्ने सम्भावना बलियो हुने देखिन्छ । यस शृङ्खलापछि नेपालले घरेलु मैदानमै अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ भने जुलाईमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्न नेदरल्यान्ड्स जाने कार्यतालिका छ । आगामी अक्टोबरमा ओमान भ्रमण गरी नेपालले ओमान र क्यानाडाको सामना गर्दै सन् २०२३-२०२७ को लिग-२ चक्र समापन गर्नेछ ।



















