
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी सिरिजकाे दाेस्राे खेलमा नेपालले ओमानबाट ३०६ रनको लक्ष्य पाएकाे छ ।
टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोड्यो । कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडेका थिए ।
जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।



















