तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १८:४८
तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डमा

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्डमा समावेश गरिएको हो ।

गत नोभेम्बर २६ तारिखमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार  (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए । त्यसमा भगवती र अस्मिता विजयी भए ।

पूर्व उपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई प्रमाणपत्र एक कार्यक्रमबीच प्रदान गरिन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् ।

विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटरको उचाइमा रहेको कालापत्थर मैत्रीपूर्ण रेस्लिङ पनि आयोजना गरेको थियो ।

एभरेस्ट दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् । अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.