नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १८:१५
नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  

विराटनगर । विराटनगरमा सुरु भएको दोस्रो नेपाल हब पुरुष टी २० क्रिकेट प्रतियोगिताको उद्‌घाटन खेलमा विराटनगर हब र सिराहा हबले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर हबले राजविराज हबलाई ८ विकेटले हराउँदै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा ५६ रनको चुनौती प्रस्तुत गर्‍यो । रोहन विकले २० रन र निवेश मण्डलले १० रन बनाए । बलिङमा विराटनगरका अभय कामतले ४ विकेट तथा अरुण मण्डल र विकास कामतले समान २–२ विकेट लिए ।

Advertisement

विराटनगरले पाएको  ५७ रनको लक्ष्य ६ ओभर ४ बलमा २ विकेट गुमाउँदै विजयी भयो । मनिष कामतले ३७ रन र आकाश यादवले १२ रनको योगदान गरे । राजविराजका मिथिलेश कबिर र नितिश शर्माले समान १–१ विकेट लिए ।
खेलको प्लेयर अफ म्याच विराटनगरका अभय कामत भए ।

त्यस्तै, दिनको दोस्रो खेलमा सिराहा हबले उदयपुर हबलाई ३६ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

उदयपुरले टस जितेर पहिलो ब्याटिङको मौका दिएको थियो । पहिलो ब्याटिङ थालेको सिराहाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रन बनायो । आलोक यादवले २३ रन, पंकज दासले १८ रन, दुर्गेश मण्डलले १६ रन र आर्यन यादवले १० रन बनाए । बलिङमा उदयपुरका देवेन दासले २ विकेट लिए ।

९२ रनको लक्ष्य पाएको उदयपुरले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५५ रनमै समेटियो । सौरभ पौडेलले २६ रन बनाए । बलिङमा सिराहाका आयुष बिक र अभिषेक रायले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिराहाका आलोक यादव भए ।

वैशाख २६ गतेसम्म हुने प्रतियोगितामा कोशी र प्रदेश प्रदेशको ५ टोलीको सहभागिता रहेको छ । कोशीको मोरङ, सुनसरी र उदयपुर तथा मधेसको सिराहा र राजविराज रहेका छन् । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच उपाधि जितका लागि फाइनल खेल हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.