वर्षाले खेल रोकियो, अंक बाँडियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १८:३५

विराटनगर । नेपाल हब पुरुष २०–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत बुधबार हुने तय भएका खेलहरू भारी वर्षाका कारण स्थगित भएका छन् ।

बिहानैदेखि परेको लगातार वर्षाका कारण विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा मैदानमा पानी जमेर प्रतियोगिता गर्न नसकिने अवस्था बनेपछि सबै खेल रद्ध गरिएको आयोजकले जनाएको छ । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बुधबारका लागि दुई खेल तय भएका थिए ।

Advertisement

पहिलो खेल विराटनगर हब र सिरहा हबबीच तथा दोस्रो खेल उदयपुर हब र इटहरी हबबीच हुने तालिका थियो । तर, बिहानैदेखि परेको अविरल वर्षाले मैदान खेल्न योग्य नबनेपछि दुवै खेल रद्ध गर्नुपरेको फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

आयोजकका अनुसार खेल रद्ध भएपछि दुवै खेलमा संलग्न टोलीलाई १–१ अंक बाँडिएको छ । प्रतियोगिताको नियमअनुसार वर्षा वा अन्य कारणले खेल हुन नसकेमा अंक बराबरी बाँड्ने व्यवस्था छ ।

हालसम्मको अंक तालिकामा विराटनगर हब उत्कृष्ट प्रदर्शनसहित शीर्ष स्थानमा रहेको छ । उसले ३ खेलमध्ये २ मा जित हासिल गर्दै र १ खेल रद्ध भएपछि कुल ५ अंक जोडेको छ । त्यस्तै सिरहा हबले २ खेलमा १ जित र १ खेल रद्धसँगै ३ अंकसहित दोस्रो स्थान सुरक्षित गरेको छ ।

राजविराज हब २ खेलमध्ये १ जित र १ हार व्यहोर्दै २ अंकसहित तेस्रो स्थानमा छ । इटहरी हब भने २ खेलमध्ये १ मा पराजित र १ खेल रद्ध भएपछि १ अंकसहित चौथो स्थानमा रहेको छ ।

उदयपुर हबको अवस्था भने अझ कमजोर देखिएको छ । ३ खेलमध्ये २ मा पराजित र १ खेल रद्ध भएपछि उसले पनि १ अंक मात्र जोड्दै तालिकाको पुछारमा रहेको छ ।

लगातारको वर्षाले प्रतियोगिताको तालिका प्रभावित भए पनि आयोजकले मौसम सुधार भएपछि बाँकी खेलहरू नियमित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । मैदानको अवस्था सुधार गर्न ‘ग्राउण्ड स्टाफले काम जारी राखेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.