
काठमाडौं । संवैधानिक परिषद्ले न्यायाधीश डाक्टर मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा कार्यसम्पादनका आधारमा सिफारिस गरेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।
बिहीबार बसेको परिषद्को बैठकले कार्यसम्पादनका आधारमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्री सचिवालयले जनाएको हो । न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्छ्यौटमा न्यायाधीश शर्माले सर्वाधिक उच्च रेकर्ड कायम गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना २०७६–२०८१ को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ । सर्वोच्च अदालतको तथ्यांक अनुसार, प्रधान न्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डाक्टर शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुंगो लगाएका छन् ।
यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो । पछिल्लो आर्थिक वर्ष २०८०–०८१ मा मात्रै उनले २,१८१ मुद्दा किनारा लगाएका छन् । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उनी एक्लो न्यायाधीश हुन् ।

























