
विराटनगर । कोशी क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल हब पुरुष २०–२० क्रिकेट प्रतियोगितामा सिरहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न लिग चरणका अन्तिम खेलपछि अंक तालिकाको शीर्ष दुई स्थान सुरक्षित गर्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो खेलमा सिरहा हबले राजविराज हबलाई रोमाञ्चक एक रनको अन्तरले पराजित गर्यो । बिहानको वर्षाका कारण २० ओभरको खेल १० ओभरमा छोट्याइएको थियो ।
टस जितेर ब्याटिङ गरेको सिरहाले ८ विकेट गुमाउँदै ५७ रन बनायो । कप्तान आयुष विकले सर्वाधिक २० रनको योगदान दिए । राजविराजका अजय यादव र नितिश शर्माले समान ३–३ विकेट लिए ।
५८ रनको सामान्य लक्ष्य पछ्याएको राजविराज हबले निर्धारित १० ओभर खेल्दै ९ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । टिमका निवेश मण्डलले सर्वाधिक १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
सिरहाका अभिषेक राईले ३ विकेट र कप्तान आयुष विकले २ विकेट लिएर टोलीलाई जित दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयुष विक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा विराटनगर हबलाई इटहरी हबले २ विकेटले पराजित गर्दै ठूलो उलटफेर गर्यो । टस जितेर ब्याटिङ गरेको विराटनगर १९.२ ओभरमै अलआउट हुँदै ७९ रनमा समेटियो ।
अरुण मण्डलले अविजित ४० रन बनाउँदा आकाश यादवले १० रन जोडे । इटहरीका दिवश विष्टले घातक बलिङ गर्दै ४ विकेट लिए भने असान खानले ३ विकेट हात पारे ।
८० रनको लक्ष्य इटहरीले १८.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । असान खानले १५ रनको योगदान दिए । विराटनगरका मनिष कामतले ३ विकेट लिए भने अरुण मण्डल र देवराज झा ले २–२ विकेट लिए पनि जित रोक्न सकेनन् । दिवश विष्ट ‘प्लेयर अफ द म्याच’ बने ।
लिग चरणको अन्त्यसँगै सिरहा हब ४ खेलमा ३ जित र १ रद्द खेलसहित ७ अंकका साथ शीर्ष स्थानमा रहँदा विराटनगर हब ५ अंकसहित दोस्रो स्थानमा रह्यो । राजविराज हब ४ अंकका साथ तेस्रो, इटहरी हब ३ अंकसहित चौथो र उदयपुर हब १ अंकसहित पुछारमा रह्यो ।
अब उपाधिका लागि सिरहा हब र विराटनगर हबबीच प्रतिस्पर्धा हुने भएको छ ।



















