न्युजिल्यान्डमा गुञ्जियो नेपथ्य: अकल्यान्डको हल दर्शकले भरिभराउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ११:००

विराटनगर । नेपाली लोक रक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डको अकल्यान्डस्थित ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’मा भव्य प्रस्तुति दिएको छ। झन्डै एक दशकको अन्तरालमा दोस्रो पटक न्युजिल्यान्ड पुगेको नेपथ्यको कन्सर्टमा दुई हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

मुख्य सहर अकल्यान्डमा भएको आजसम्मकै सर्वाधिक ठूलो नेपाली जमघटका रूपमा हेरिएको यस कन्सर्टका लागि दर्शकहरू निकै उत्साहित देखिएका थिए। कार्यक्रम सुरु हुनुभन्दा आधा घण्टा अघि नै हल भरिभराउ भइसकेको थियो।

Advertisement

भावुक बने दर्शक

कन्सर्टको सुरुवात ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट भएको थियो। गायक अमृत गुरुङले ‘तपाईंहरू माया गर्नुहुन्छ र हामी आइपुग्छौँ’ भन्दै गर्दा दर्शकहरूले निकै जोसका साथ उनको स्वागत गरेका थिए। कन्सर्ट हेर्न न्युजिल्यान्डका विभिन्न सहरहरूबाट नेपालीहरू आइपुगेका थिए। क्राइस्टचर्चदेखि डेढ घण्टाको हवाई यात्रा गरेर आएका १५ वर्षदेखि न्युजिल्यान्डमा कार्यरत दीपक पाण्डेले कन्सर्ट हेर्दा एकैछिन भए पनि स्वदेश पुगेर फर्केजस्तो अनुभूति भएको बताए। त्यस्तै, हेमिल्टनदेखि मोटर हाँकेर आएका दर्शकहरूले पनि मञ्चका कलाकारसँग दर्शक यसरी भावुक भएर जोडिएको आफूले पहिलो पटक देखेको प्रतिक्रिया दिए।

व्यावसायिकताको प्रशंसा

नेपथ्यको प्रस्तुति, प्रविधि र व्यवस्थापनको विदेशी प्राविधिकहरूले समेत प्रशंसा गरेका छन्। न्युजिल्यान्डको प्रोडक्सन कम्पनी ‘एभिएल ल्याब’मा आबद्ध ग्रान्ट सिभिलिचले नेपथ्यको प्रस्तुतिमा उच्च स्तरको व्यावसायिकता पाएको बताए। उनले आवाज, लाइट र पृष्ठभूमिमा प्रयोग गरिएका भिडियोको संयोजन निकै प्रभावशाली रहेको उल्लेख गरे।

कन्सर्टमा १३ र १६ वर्षका छोराछोरीसहित आएका राज महर्जन र २६ वर्षदेखि न्युजिल्यान्ड बस्दै आएका बैंकर वेदेन्द्र अधिकारीले पनि नेपथ्यको कार्यक्रम सोचेभन्दा धेरै रमाइलो हुने गरेको अनुभव सुनाए।

स्थानीय आयोजकको मेहनत

स्थानीय आयोजक लाखे इभेन्ट्सका रोजन भट्टराईले नेपथ्यलाई उतार्न महिनौँको तयारी गरिएको र दर्शकको उत्साहजनक सहभागिताले मेहनत सफल भएको बताए। कन्सर्टका लागि फ्लोर टिकट केही दिन अगावै सकिएको थियो।

मञ्चमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। न्युजिल्यान्डको यो एकमात्र कन्सर्ट सम्पन्न गरेपछि ब्यान्ड अब स्वदेश फर्कने तयारीमा रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.