
एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले इरानसँग जारी युद्धमा अहिलेसम्म करिब २९ अर्ब डलर खर्च भइसकेको जनाएको छ ।
अमेरिकी संसद् भवनमा भएको बजेट सुनुवाइका क्रममा सार्वजनिक गरिएको यो तथ्यांक यसअघि गरिएको अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले अप्रिल २९ मा युद्ध खर्च २५ अर्ब डलर पुग्ने अनुमान गरेका थिए ।
तर, रक्षा मन्त्रालयका वित्त प्रमुख जुल्स हर्स्ट तृतीयले संयुक्त सैन्य तथा नियन्त्रक टोलीले पुनः मूल्यांकन गर्दा खर्च बढेर २९ अर्ब डलर नजिक पुगेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युद्ध र सैन्य तयारीबारे बढ्दो राजनीतिक दबाबका बीच यो विवरण सार्वजनिक गरिएको हो ।
ट्रम्प प्रशासनले तेहरानको पछिल्लो शान्ति प्रस्ताव अस्वीकार गरेपछि युद्धविरामलाई ‘मानवीय जीवन जोगाउने उपाय’ का रूपमा व्याख्या गरेको छ । युद्धको दीर्घकालीन रणनीति र खर्चबारे स्पष्ट जानकारी नदिएको भन्दै विपक्षी सांसदहरूले रक्षा मन्त्रालयको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको विनियोजन समितिकी सदस्य रोजा डेलाउरोले ‘युद्धबाट अमेरिका के हासिल गर्न खोजिरहेको छ ?’ भन्ने प्रश्न उठाएकी छन् । पश्चिम एसियामा महिनौँदेखि जारी क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा अभियानका कारण अमेरिकी हतियार भण्डार घटिरहेको चिन्ता पनि बढेको छ ।
तर, रक्षा मन्त्री हेगसेथले अमेरिकी सैन्य सामग्री सकिँदै गएको दाबी अस्वीकार गर्दै आवश्यक स्रोत पर्याप्त रहेको बताएका छन् ।



















