
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा चीन पुगेका ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । बेइजिङमा ट्रम्पको भव्य स्वागत भएको छ । बेइजिङको समय अनुसार साँझ करिब ७ः५० बजे विशेष विमानमार्फत ट्रम्प चीन पुगेका हुन् ।
अमेरिकी राष्ट्रपतिको हैसियतमा करिब नौ वर्षपछि भएको यो चीन भ्रमणलाई विश्व राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ । सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो चीन भ्रमण पनि हो ।
चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्प र सी चिनफिङबीच बिहीबार औपचारिक शिखर वार्ता हुनेछ । भेटवार्तामा दुई देशबीचको व्यापार, ताइवानको अवस्था, कृत्रिम बुद्धिमत्ता, विश्व अर्थतन्त्र, इरानसँग सम्बन्धित तनाव तथा विश्व शान्ति र विकासका विषयमा गहन छलफल हुने बताइएको छ ।
अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सामरिक प्रभाव विस्तारलाई लिएर तनाव बढिरहेका बेला हुन लागेको यो भेटलाई विशेष चासोका साथ हेरिएको छ । दुई महाशक्ति राष्ट्रका नेताबीच हुने वार्ताले आगामी अन्तर्राष्ट्रिय राजनीति र विश्व अर्थतन्त्रको दिशामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
चीन प्रस्थानअघि ट्रम्पले आफूले सी चिनफिङसँग इरानको अवस्थाबारे लामो छलफल गर्ने बताएका थिए । यद्यपि, उनले व्यापार नै आफ्नो भ्रमणको मुख्य प्राथमिकता रहने स्पष्ट पारेका थिए । अमेरिकी उद्योग, निर्यात र व्यापार असन्तुलनका विषय ट्रम्पका लागि आन्तरिक राजनीतिसँग समेत जोडिएका कारण यो भ्रमणलाई उनको राजनीतिक रणनीतिसँग पनि सम्बन्धित रूपमा हेरिएको छ ।
अधिकारीहरुका अनुसार ट्रम्पको चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुधार प्रयास मात्र नभई विश्व शक्ति सन्तुलनसँग समेत जोडिएको छ । पछिल्लो समय अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धा, ताइवान मुद्दा, प्रविधिमा नियन्त्रण तथा क्षेत्रीय प्रभाव विस्तारका कारण दुवै देशबीचको सम्बन्ध जटिल बन्दै गएको छ ।
यस्तो अवस्थामा बेइजिङमा ट्रम्पको भ्रमण र सी चिनफिङसँग हुने प्रत्यक्ष संवादलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । विश्वभरका शक्ति राष्ट्रहरूले पनि यो भ्रमण र त्यसबाट निस्कने निष्कर्षलाई चासोपूर्वक हेरिरहेका छन् ।



















