अमेरिका–चीन सम्बन्धमा नयाँ मोड : बेइजिङमा ट्रम्प र सीबीच ऐतिहासिक वार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १०:५५

एजेन्सी । विश्वको सबैभन्दा ठूला आर्थिक तथा राजनीतिक शक्ति राष्ट्रहरू अमेरिका र चीनबीचको सम्बन्धले नयाँ दिशा लिने अपेक्षा गरिएको उच्चस्तरीय शिखर वार्ता चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जारी रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटलाई पछिल्ला वर्षहरूमा देखिएको तनाव, व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा र भू–राजनीतिक असन्तुलनबीचको सम्भावित ‘ब्रेकथ्रु’ का रूपमा हेरिएको छ । बेइजिङको अत्यन्त कडा सुरक्षा व्यवस्थाबीच भएको औपचारिक स्वागत समारोहसँगै वार्ता सुरु भएको हो ।

Advertisement

अमेरिकी राष्ट्रपति ट्रम्प विमानबाट अवतरण गरेलगत्तै चिनियाँ उपराष्ट्रपति हान झेङले रनवेमै पुगेर उनलाई स्वागत गरेका थिए । यसलाई बेइजिङले दिएको उच्च कूटनीतिक सम्मानका रूपमा व्याख्या गरिएको छ । जसले दुई देशबीचको सम्बन्ध पुनः सन्तुलनतर्फ अघि बढ्न सक्ने संकेत दिएको विश्लेषकहरू बताउँछन् ।

ग्रेट हल अफ द पिपुलमा रेड कार्पेट बिछ्याएर गरिएको भव्य स्वागत समारोहमा राष्ट्रपति सी जिनपिङ स्वयं सिँढीबाट तल झरेर ट्रम्पलाई स्वागत गरेका थिए । दुवै नेताबीच हात मिलाएर औपचारिक भेट भएको थियो । जसका क्रममा चिनियाँ सेनाको औपचारिक टुकडी पनि उपस्थित थियो । भवन परिसरमा अमेरिका र चीन दुवै देशका झण्डा सँगै फहराइएको दृश्यलाई दुवै देशबीच सहकार्यको नयाँ संकेतका रूपमा हेरिएको छ ।

जारी रहेको वार्तामा ट्रम्पको प्रतिनिधिमण्डल पनि उल्लेखनीय रूपमा ठूलो देखिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्टसहित विभिन्न उच्च अधिकारीहरू सहभागी छन् । त्यस्तै, प्रविधि तथा व्यापार क्षेत्रका चर्चित व्यक्तिहरू पनि प्रतिनिधिमण्डलमा रहेका छन् । जसमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङको उपस्थिति विशेष रूपमा चर्चामा छ ।

वार्ताको प्रारम्भिक चरणमै राष्ट्रपति सी जिनपिङले दुवै देश प्रतिस्पर्धी नभएर साझेदार हुनुपर्ने आवश्यकता औंल्याउँदै विश्वले अहिले गम्भीर परिवर्तनको चरण पार गरिरहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय प्रणाली अस्थिर र अनिश्चित बन्दै गएको उल्लेख गर्दै अमेरिका–चीन सम्बन्धले सम्पूर्ण विश्व व्यवस्थामा गहिरो प्रभाव पार्ने भएकाले जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

सीले आफ्नो मन्तव्यमा ऐतिहासिक सन्दर्भ पनि जोड्दै दुई देशबीचको सम्बन्धलाई ‘थुसिडाइड्स ट्रयाप’बाट बाहिर निकाल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठाएका थिए । विश्वका प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा संघर्षमा परिणत हुन नहुने उल्लेख गर्दै उनले सहकार्यका माध्यमबाट नयाँ मोडेल विकास गर्न सकिने सम्भावना खुला रहेको बताए । उनले आगामी वर्षलाई ऐतिहासिक रूपमा महत्वपूर्ण बनाउन दुवै देशले मिलेर काम गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

यसै क्रममा सीले ट्रम्प नेतृत्वको अमेरिकालाई स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई स्थिरता र आपसी लाभतर्फ लैजान सकिने विश्वास व्यक्त गरेका थिए । सीले व्यापार, प्रविधि, सुरक्षा र विश्वव्यापी स्थायित्वका विषयमा साझा हित धेरै रहेको भन्दै मतभेदभन्दा सहकार्यका अवसर बढी भएको उल्लेख गरेका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँगको भेटलाई आफ्नो लागि सम्मानको विषय बताएका छन् । उनले विगतका चुनौतीपूर्ण परिस्थितिहरूमा पनि फोन संवादमार्फत समस्या समाधान गर्न सकिएको स्मरण गर्दै वर्तमान वार्ता अझ परिणाममुखी हुने अपेक्षा व्यक्त गरेका छन् । ट्रम्पले सी जिनपिङलाई ‘महान् नेता’ को संज्ञा दिँदै आफूले विश्वका उत्कृष्ट व्यापारिक नेतृत्वलाई साथमा लिएर आएको टिप्पणी गरेका छन् ।

ट्रम्पले भेटलाई ऐतिहासिक शिखर वार्ता भन्दै यसले अमेरिका–चीन सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उनले व्यापार सम्झौता, कृषि उत्पादनको निर्यात, विमान खरिद तथा अन्य आर्थिक सहकार्यका विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना रहेको संकेत गरेका छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय विश्लेषकहरूले ट्रम्प र सीबीचको भेटलाई अत्यन्त रणनीतिक महत्वको रूपमा व्याख्या गरेका छन् । स्टिम्सन सेन्टरकी विश्लेषक केली ग्रिकोले ट्रम्पले सीप्रति देखाएको सम्मानजनक अभिव्यक्तिले चीनलाई समान हैसियतमा उभ्याएको र वार्ताको शक्ति सन्तुलनमा नयाँ संकेत दिएको बताएकी छन् । उनका अनुसार अमेरिका अहिले चीनसँगको व्यापारिक प्रतिस्पर्धामा अघिल्ला वर्षहरूजस्तो बलियो स्थितिमा नरहेको पनि देखिएको छ । विशेषगरी सेमिकन्डक्टर, दुर्लभ खनिज तथा उच्च प्रविधि क्षेत्रमा चीनको प्रभाव बढ्दै गएको छ ।

विश्लेषकहरूले इरान, मध्यपूर्व, युक्रेन संकटदेखि लिएर विश्वव्यापी आपूर्ति शृंखला, ऊर्जा सुरक्षा र प्रविधि नियन्त्रणसम्मका विषयमा पनि वार्ताले प्रभाव पार्न सक्ने बताएका छन् । ट्रम्पले चीनलाई इरानसम्बन्धी नीतिमा सहकार्यका लागि आग्रह गर्न सक्ने अनुमान गरिएको छ । चीनले पनि आफ्नो आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित विषयमा स्पष्ट माग राख्ने सम्भावना छ ।

बेइजिङमा भइरहेको शिखर वार्तालाई औपचारिक भेटका रूपमा मात्र नभई दुई महाशक्तिबीचको सम्बन्ध पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ । विगतमा व्यापार युद्ध, प्रतिबन्ध, प्रविधि नियन्त्रण र सैन्य प्रतिस्पर्धाका कारण चिसिएको सम्बन्धलाई द्धिपक्षीय वार्ताले नयाँ दिशा दिन सक्छ कि सक्दैन भन्ने प्रश्न अन्तर्राष्ट्रिय समुदायमा प्रमुख रूपमा उठिरहेको छ ।

दुई दिनसम्म चल्ने भनिएको बैठकपछि व्यापार, प्रविधि, सुरक्षा तथा कूटनीतिक सहकार्यसम्बन्धी केही ठोस घोषणा आउने अपेक्षा गरिएको छ । तर, विश्लेषकहरू अझै पनि सतर्क छन् । किनकि अमेरिका र चीनबीचको प्रतिस्पर्धा आर्थिक मात्र नभएर रणनीतिक र दीर्घकालीन प्रकृतिको भएकाले कुनै पनि सहमति स्थायी हुने कि नहुने भन्ने विषय समयले मात्र निर्धारण गर्नेछ ।

हाललाई भने बेइजिङको ग्रेट हल अफ द पिपुलमा जारी वार्ताले विश्वको ध्यान तानेको छ । उक्त भेटले आगामी वर्षहरूमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.