नेपालले अमेरिकालाई ९ विकेटले हरायो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १६:३५

काठमाडौं। कुशल भूर्तेलको शतकमा नेपालले क्रिकेट विश्वकप लिग २ मा शनिबार अमेरिकामाथि ९ विकेटको सानदार विजय हात पारेको छ । कुशलको अविजित १ सय २० रनमा नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९६ रनको लक्ष्य ३६.४ ओभरमै १ सय ९९ रन बनाउँदै पूरा गर्यो ।

कुशलले १ सय १८ बलको इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन् । सन् २०२३ को फेब्रुअरीमा पनि उनले नामिबियाविरुद्ध कीर्तिपुरमै १सय १५ रन बनाएका थिए ।

Advertisement

कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ४५ रन जोडेर नेपालको विजय आधार बनाएका थिए । नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो ठूलो साझेदारी हो । कुशल र आसिफले पहिलो विकेटमा चौथो पटक शतकीय साझेदारी निभाएका हुन् ।

आसिफ २७ औं ओभरमा आउट भएपछि यो साझेदारी टुटेको थियो । आसिफले ५८ रन बनाए । उनले ७२ बल खेली ८ चौका प्रहार गरे । ‘डेब्यु’ गरिरहेका इशान पाण्डे २० रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका उनले ३० बल खेले ।

लिग २ को २०२४–२७ सर्कलमा नेपालले अमेरिकालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि अमेरिकाले सबै खेल जितेको थियो । जिम्बावेमा २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि पहिलो विजय हात पारेको हो ।

नेपालको २६ खेलमा २० अंक छ । आठ राष्ट्र सहभागि प्रतियोगितामा नेपाल सातौं स्थानमा यथावत् छ । अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानका साथ नेपाल आएको अमेरिकाको यो लगातार दोस्रो पराजय हो । अघिल्लो खेलमा स्कटल्यान्डसँग पनि पराजित भएको थियो ।

शनिबारको खेलमा टस जितेर ब्याटिङ रोजेको अमेरिका ४३।३ ओभरमा १ सय ९५ रनमा अलआउट भएको थियो । निकै दमदार ब्याटिङ गरेको अमेरिकाविरुद्ध नेपाल उत्कृष्ट फिल्डिङ गर्दै खेलमा फर्किएको थियो ।

२३ औं ओभरमा १२२–१, ३१ औं ओभरमा १५८–३ को मजबुत अवस्थामा रहेको अमेरिका अन्तत ६ ओभरभन्दा अगाडि नै अलआउट हुन पुग्यो । सायन जहाँगिर ६ रनमै आउट भए पनि ओपनर स्मित पटेलले सेहन जयसुर्यासँग मिलेर दोस्रो विकेटमा १ सय रन जोडेका थिए । जयसुर्याले ५२ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए ।

सोमपाल कामीको बलमा आसिफ शेखले १४ रनमा सजिलो क्याच छाडेको स्मितले भरपुर फाइदा उठाए । स्मित ८९ रन बनाई सोमपालकै बलमा आसिफबाट उत्कृष्ट क्याच भएर पेभेलियन फर्किए । उनले ८९ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । जयसुर्या र स्मित दुबैको विकेट सोमपालले लिए ।

अमेरिका आफ्ना कप्तान मोनान्क पटेल बिनै खेलेको थियो । स्कटल्यान्डसँग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो । उनको स्थानमा अमेरिकाको कप्तानी गरिरहेका साइतेजा मुकामल्लालाई सन्दीप लामिछानेले बोल्ड गरे । वैकल्पिक फिल्डर भीम सार्कीले आसिफसँग मिलेर शुभम रञ्जनेलाई २ रनमा रनआउट गरे ।

तपाइको प्रतिक्रिया
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.