
विराटनगर । झापामा दुई दिनको अवधिमा दुई जना महिलाको हत्या भएको छ । घटनाले महिलाको सुरक्षा र सामाजिक अवस्थालाई लिएर गम्भीर प्रश्न उठाएको छ ।
प्रहरीका अनुसार घटना अलग–अलग स्थानमा भएका हुन् । हत्यामा संलग्नहरु पक्राउ परेका छन् । एउटा घटनामा आफ्नै पतिले पत्नीको हत्या गरेका हुन् भने अर्को घटनामा बाहिरका युवकको संलग्नता रहेको पाइएको छ ।
झापाका प्रहरीका सूचना अधिकारी तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा पतिले पत्नीको हत्या गरेका छन् । मंगलबार राति करिब ११ बजे ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी पत्नी ३३ वर्षीया उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको खड्काले बताए ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ असई छविहाङ शेर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । त्यसपछि डीएसपी खड्काको नेतृत्वमा अर्को टोली घटनास्थल गयो । आरोपित गोकर्णलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । गोकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।
त्यसको अघिल्लो दिन अर्थात् सोमबार राति झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकमा अर्की महिलाको हत्या भएको छ । उक्त घटनामा प्रहरीले अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतमलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ः१५ बजे कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुला चउरमा २९ वर्षीया काजल बस्नेत सुवेदी र किरण गौतम अत्यधिक मदिरा सेवन गरेर बसेका थिए । सोही क्रममा उनीहरूबीच विवाद भएको र विवाद चर्किएपछि किरणले काजललाई धकेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
धकेल्ने क्रममा काजल चउरको बीच भागमा रहेको कंक्रिटको प्लममा ठोक्किन पुगेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी उनलाई स्थानीयले उद्धार गरेर उपचारका लागि सुरुमा शंकर अस्पताल लगेका थिए । त्यसपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर पुर्याइएको थियो । उपचारकै क्रममा मंगलबार बिहान करिब ४ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक काजलका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका छन् । मृतककी दिदी प्रतिमा भट्टराईले प्रहरीमा जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले किरणलाई पक्राउ गरेको थियो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी खड्काका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाको कारण पत्ता लगाउन विस्तृतमा अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।



















