टी–२० सिरिजमा नेपालद्वारा मलेसियामाथि लगातार दोस्रो जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १२:३४

काठमाडौं । नेपाल महिला राष्ट्रिय टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा शानदार प्रदर्शन गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै दुई खेलको सिरिज २–० ले आफ्नो पक्षमा पार्न सफल भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो ।

Advertisement

मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा अविजित ३९ रन बनाइन् ।

उनले संयमित इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याइन् । त्यस्तै कविता कुवँरले पनि २० बलमा अविजित १९ रन जोड्दै सम्झनालाई राम्रो साथ दिइन् । सोनी पाख्रिनले १२ रनको योगदान गरिन् । मलेसियाका लागि नुर धानीया र एइसा एलिसाले समान १–१ विकेट लिए पनि नेपाललाई ठूलो चुनौती दिन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् । उनले ३० बलको सामना गरिन् । धनुश्रीले २० बलमा १५ रन जोडिन् भने अरिनान नातास्या १३ रनमा अविजित रहिन् ।

नेपालका बलरहरूले भने उत्कृष्ट प्रदर्शन गरे । कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिएर मलेसियाको ब्याटिङ लाइनअप दबाबमा राखे । पूजा महतो र सीता रानामगरले पनि समान १–१ विकेट हात पारे ।

हाल नेपाली महिला टोली मलेसियामै रहेको छ । टोलीले आगामी सातादेखि सुरु हुने एसियन गेम्स छनोट प्रतियोगिता तथा अर्को महिनाबाट आयोजना हुने एसीसी प्रिमियर कपको तयारी गरिरहेको छ । लगातार दुई खेलमा जित निकाल्दै नेपालले आगामी प्रतियोगिताका लागि सकारात्मक संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.