
सुनसरी । सप्तकोशी नदीको बीच टापुमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ ।
सुनसरी र उदयपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने टापुबाट करिब ४ सय ७५ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा लुकाई छिपाई राखिएको अवस्थामा उक्त गाँजा फेला परेको सशस्त्र प्रहरीले फेला पारेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको नेतृत्वमा खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ ।
नदीको बीच टापुमा गाँजा राखिएको कारण सशस्त्र प्रहरीले ‘र्याप बोट’ प्रयोग गरेर गाँजा नदी पार गराई किनारमा ल्याएको थियो । बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



















