
काठमाडौं । कम्बोडिया सरकारले भिसाको समयावधि सकिएर पनि त्यहाँ बसिरहेका ६०२ जना नेपाली नागरिकको जरिबाना शुल्क मिनाहा गरिदिएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको विशेष अनुरोधमा कम्बोडिया सरकारले नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन यो निर्णय गरेको हो ।
कम्बोडियाको प्रचलित कानुन अनुसार भिसा अवधि सकिएपछि बस्ने विदेशीले दैनिक १० अमेरिकी डलर जरिबाना तिर्नुपर्ने व्यवस्था छ । तर, दूतावासको पहलमा सो जरिबाना मिनाहा भएपछि अवैध रूपमा बसिरहेका नेपालीहरूलाई ठुलो आर्थिक राहत मिलेको छ।
जरिबाना मिनाहा गरिएकामध्ये ३०२ जना नेपाली अझै कम्बोडियामै रहेको र उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ। उनीहरूका लागि आवश्यक पर्ने ट्राभल डकुमेन्ट (प्रवास अनुमति पत्र) दूतावासले उपलब्ध गराइसकेको छ।
दूतावासले एक सूचना जारी गर्दै भिसा अवधि सकिएका सबै नेपालीलाई एक हप्ताभित्रै कम्बोडिया छोड्न आग्रह गरेको छ । तोकिएको समयभित्र स्वदेश नफर्किएमा कम्बोडियाको नयाँ र कठोर कानुन आकर्षित हुने चेतावनी समेत दिइएको छ ।
कम्बोडियाले हालै कार्यान्वयनमा ल्याएको नयाँ कानुन अनुसार, अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने र भिसा अवधि सकिएर पनि बस्ने विदेशीलाई ५ लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुनसक्ने व्यवस्था छ ।
जरिबाना मिनाहाको सुविधा पाएका नेपालीहरूले स्वदेश फर्कनका लागि हवाई टिकटको व्यवस्था भने आफैँ गर्नुपर्नेछ। टिकट सुनिश्चित गरिसकेपछि सोको जानकारी कम्बोडियाको अध्यागमन विभागमा गराउनुपर्ने दूतावासले प्रस्ट पारेको छ।
दूतावासको यो प्रयासले अलपत्र परेका नेपालीहरूलाई कानुनी झमेला र ठुलो जरिबानाबाट मुक्ति मिलेको छ।

























