
सिरहा । प्रहरीले सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर अशान्ति फैलाएको आरोपमा २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार ‘किङ अफ बलान’,‘किङ अफ भगवानपुर’,‘‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्नेहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार ती युवाहरूले बिना हेल्मेट, आवश्यक कागजपत्रविनाका तथा नम्बर प्लेट नभएका मोटरसाइकल प्रयोग गर्दै राजमार्गमा होहल्ला गर्ने, एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार हुने तथा ट्राफिक नियमको खुला उल्लङ्घन गरी सामाजिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए ।
नियन्त्रणमा लिइएकामध्ये सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन् ।

























