
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
विद्युतीय चुरोट (भेप)भित्र लुकाएर सुन तस्करी गरिएको प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अदालतले उक्त आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा महरासहित उनका छोरा राहुल महरा र अन्य २७ जना गरी कुल २९ जनालाई प्रतिवादी बनाइएको थियो । यो प्रकरण २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईमार्फत आएका चिनियाँ नागरिक ली हाङ सोङसँग सम्बन्धित छ । उनी दुईवटा सुटकेससहित काठमाडौं आएका थिए । ती सुटकेसमा ७३ वटा बट्टाभित्र ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) फेला परेको थियो ।
अनुसन्धान अनुसार भेपभित्र सुन लुकाएर तस्करी गरिएको पाइएको थियो । भन्सार जाँच प्रक्रियामा गम्भीर लापरबाही गरिएको, आवश्यक परीक्षण नगरी शंकास्पद सामग्री छोडिएको र बरामद सामानलाई गोदाममा राख्नुपर्नेमा नियम विपरीत भन्सार अधिकृतको कार्यकक्षमा राखिएको पाइएको थियो ।
अख्तियारले राजनीतिक पहुँचको दुरुपयोग गर्दै महराले सुन तस्करीमा संलग्न समूहलाई सहयोग गरिएको दाबी गरेको छ । साथै, संलग्न व्यक्तिहरूबीच अस्वाभाविक भेटघाट र फोन सम्पर्क भएको पनि उल्लेख छ । अदालतको आदेशपछि महरा धरौटी बुझाएपछि रिहा हुनेछन् भने मुद्दाको मूल सुनुवाइ भने अझै बाँकी रहनेछ ।



















