पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै झापा प्रहरी प्रमुख एसपी वसुन्धरा खड्का ।झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
घटनाको करिब १० दिनपछि जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान निष्कर्षतर्फ पुगेको भन्दै भारतको अररिया घर भई हाल दमकमा बसोबास गर्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर घटनाका बारेमा विस्तृत जानकारी दिएको छ ।
पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको झापा प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् ।
उनका अनुसार पक्राउ परेका पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका थिए । अनुसन्धानका क्रममा उनी र मृतक तिवारीबीच घटना हुनुअघि भेटघाट भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा उनीहरूबीच दुई पटक शारीरिक सम्पर्क (यौन सम्पर्क) भएको र त्यसबापत पण्डितले दुई हजार रुपैयाँ दिएको खुलेको छ । सोही रकमलाई लिएर दुवैबीच विवाद भएको र विवाद उग्र बन्दै जाँदा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
हत्या पश्चात् शव लुकाउनका लागि पण्डितले मोटरसाइकल प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिवारीको शव मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि फालिएको थियो ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र तिवारीको शव फेला परेको थियो । शवको सनाखतपछि प्रहरीले मोबाइल फोनको विवरण, प्राविधिक विश्लेषण तथा प्राप्त सूचनाका आधारमा अनुसन्धान तीव्र बनायो । अनुसन्धानकै क्रममा घटनामा संलग्न रहेको आरोपमा पण्डित पक्राउ परेका हुन् ।
प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको एसपी खड्काले बताइन् ।



















