पहिरोमा ६ खेलाडीको मृत्यु, राखेपले बनायो छानबिन समिति

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १३:२५

काठमाडौं । मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर ६ जना किशोर खेलाडीको मृत्यु भएको घटनाको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ५ सदस्यीय समिति गठन गरेको छ ।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा गठन गरिएको समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । समितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुन अधिकृत सदस्य रहेका छन् । समितिले सोमबारदेखि औपचारिक रूपमा काम सुरु गर्ने स्रोतले जनाएको छ ।

२०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी विद्यालयमा सञ्चालित एन्फा सिस्नेरी एकेडेमी पहिरोमा परेका कारण ६ किशोर खेलाडीको मृत्यु भएको थियो । उक्त घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनले ज्यान गुमाएका थिए ।

घटनापछि मृतक खेलाडीका आफन्तले अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । त्यसपछि आफन्तहरूले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए । सोही आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई घटनाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×