
विराटनगर । सनातन धर्मको संरक्षण, संवर्द्धन तथा धार्मिक जागरणलाई नयाँ ढंगले प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा पहिलो पटक ‘भजन क्लबिङ कन्सर्ट’ आयोजना हुने भएको छ । विश्व हिन्दु परिषद् नेपाल र ह्यासट्याग इभेन्टले शनिबार विराटनगरस्थित जैन भवनमा कन्सर्ट आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
आयोजकका अनुसार कन्सर्टको मुख्य आकर्षण चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह रहने छन् । सिंहसहित १० सदस्यीय टोलीले भक्तिमय भजन तथा सांगीतिक प्रस्तुति दिने छन् । त्यस अवसरमा स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सांगीतिक कार्यक्रमबाट संकलित रकम बाल संस्कार केन्द्र सञ्चालन तथा धार्मिक सांस्कृतिक गतिविधिमा उपयोग गरिने बताइएको छ ।
कार्यक्रम आयोजक समितिका सचिव नितेश कुमारले पछिल्लो समय युवा पुस्तामा बढ्दो नशा तथा क्लब संस्कृतिप्रतिको आकर्षणलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने उद्देश्यले ‘भजन क्लबिङ’को अवधारणा अघि सारिएको बताए । उनका अनुसार भजन, संगीत र आध्यात्मिक चेतनालाई एउटै मञ्चमा जोडेर युवाहरूलाई धर्म, संस्कार र संस्कृतिसँग नजिक ल्याउने प्रयास गरिएको हो ।
कार्यक्रममा प्रवेशका लागि २ हजार ५ सय रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र ३ सय रुपैयाँ टिकट दर तोकिएको आयोजकले जनाएको छ ।
भजन र संगीतलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दै आयोजना हुन लागेको यो कार्यक्रमले विराटनगरको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार कार्यक्रमले भक्ति भाव, मनोरञ्जन र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने प्रयास गर्ने छ ।

























