बहुअपांगता बालकलाई आर्थिक सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १२:३८

विराटनगर । आफ्नै बाबुको क्रुर व्यवहारको सिकार बनेका बहुअपांगता भएका ७ वर्षीय बालकलाई उपचार र कानुनी प्रक्रियाका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले पीडित बालककी हजुरआमा सावित्रीदेवी मोचीलाई उपचार तथा कानुनी सहायताका लागि ७ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले उपचार र कानुनी प्रक्रियामा समस्या भएपछि राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशको अनुरोधमा इन्सेकले सहयोग उपलब्ध गराएको छ ।

Advertisement

विराटनगर–१४ हंसबाहिनी टोलका ४० वर्षीय दिनेश राममाथि जन्मजात दृष्टिविहीन, श्रवणशक्ति गुमाएका तथा हिँडडुल गर्न नसक्ने आफ्नै छोरामाथि कुटपिट र अमानवीय व्यवहार गर्दै आएको आरोप छ । बालककी हजुरआमाका अनुसार लागुपदार्थ सेवन गर्ने दिनेशले छोरालाई कुट्ने तथा शरीरका विभिन्न भागमा टोक्ने समेत गर्दै आएका थिए ।

घटनाबारे सूचना पाएपछि इन्सेकको पहलमा जेठ २२ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दर्ता भएको थियो । प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय अपांग महासंघ र इन्सेकको समन्वयमा बालकको उद्धार गरी कोशी अस्पतालमा उपचार गराइएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि बालकलाई मानव सेवा आश्रम विराटनगरमा राखिएको छ ।

विराटनगरमा बहुअपांगता बालकमाथि बाबुको क्रूर व्यवहार

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.