
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाका लागि ‘दुःखको खोला’ मानिने थुम्लुङ खोलामा पक्की पुल बन्न थालेपछि स्थानीयमा उत्साह छाएको छ । तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत साल्पासिलिछो गाउँपालिका–६ मा निर्माणाधीन यो पुलले यस क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
वर्षौंदेखि वर्षायाममा उर्लिँदो खोलासँगै ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पुलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र हालसम्म ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कोशी प्रदेश सरकारको करिब ४ करोड ९४ लाख ४५ हजार ४५६ रुपैयाँको लागतमा निर्माण भइरहेको यो पुल आधुनिक ‘ओपन फाउन्डेसन’ प्रविधिमा आधारित छ ।
कोसेली–नौलाखा–जय गोविन्द जेभीले पुल निर्माणको जिम्मा पाएको छ । एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर रहको जानकारी दिए ।
पुल नहुँदा साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दाले ठुलो सास्ती भोग्दै आएका थिए । विशेषगरी बिरामी, गर्भवती महिला र वृद्धवृद्धाका लागि वर्षायाममा खोला तर्नु ‘फलामको चिउरा चपाउनु’ सरह थियो ।
पुल नहुँदा खाद्यान्न ढुवानी रोकिने र बिरामीलाई अस्पताल लैजानै नसकिने अवस्था रहेको थियो ।
२०८४ असोजसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माणको हालको गतिले स्थानीयलाई समयमै पुल पाउनेमा आश्वस्त पारेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिलर लगायतका मुख्य संरचनात्मक कामहरू सकिसकेका छन् ।
यो पुल सञ्चालनमा आएपछि भोजपुरको उत्तरी भेगको व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो काँचुली फेरिने अपेक्षा गरिएको छ ।

























