डीडीसीका पूर्वप्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १५:४५
डीडीसीका पूर्वप्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का पूर्वप्रबन्ध निर्देशक डा. शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले विशेष अदालतको अघिल्लो फैसलालाई सदर गरेसँगै साहलाई दोषी ठहर गर्ने निर्णयले कानुनी पूर्णता पाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतको २०७५ पुसको फैसलालाई नै सदर गर्ने निर्णय सुनाएको छ ।

यसअघि विशेष अदालतले डा. साहलाई गैरकानुनी रूपमा ६८ लाख २४ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै सोही बराबरको जरिवाना र ९ वर्ष कैद सजाय सुनाएको थियो । साथै, सुशीलाकुमारी साहको नाममा रहेको अवैध सम्पत्ति समेत जफत गर्न आदेश दिएको थियो । विशेष अदालतको उक्त फैसला चित्त नबुझेपछि साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले संस्थानको टेक्निकल अफिसर पददेखि प्रबन्ध निर्देशक पदसम्म बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।

अख्तियारको अभियोग पत्र अनुसार साहको वैधानिक आय १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँ देखिएको थियो भने सोही अवधिमा उनको खर्च र लगानी ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ पाइएको थियो । आयको तुलनामा झन्डै २ करोड ३८ लाख ६८ हजार रुपैयाँ बढी देखिएपछि अख्तियारले उनी विरुद्ध छानबिन अघि बढाएको थियो ।

उनको जीवनस्तर पदीय हैसियतभन्दा अमिल्दो र उच्च रहेको भन्दै अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । सर्वोच्चको यो फैसलासँगै अब साहले तोकिएको कैद भुक्तान गर्नुका साथै जरिवाना समेत तिर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.