अविश्वसनीय पुनरागमन, बेल्जियम विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार ०६:१०

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक भिडन्तमा बेल्जियमले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै सेनेगललाई ३–२ ले पराजित गरेको छ ।

हारको संघारमा पुगेको बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । खेल पेनाल्टी सुटआउटतर्फ जाने लगभग निश्चित देखिएको अवस्थामा अतिरिक्त समयको अन्तिम क्षणमा सेनेगलका लामिन कामाराले पेनाल्टी क्षेत्रभित्र युरी टिलेमान्सलाई लडाएपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिएका थिए ।

त्यस अवसरलाई टिलेमान्सले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै बेल्जियमलाई नाटकीय जित दिलाए । निर्धारित समयभर भने सेनेगलले प्रभावशाली प्रदर्शन गरेको थियो । हबिब दियारा र इस्माइला सारले एक–एक गोल गर्दै अफ्रिकी टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

तर, दोस्रो हाफमा बेल्जियमले खेलको लय नै बदलिदियो । रोमेलु लुकाकुले उत्कृष्ट फ्लिकमार्फत गोल गर्दै टोलीलाई पुनरागमनको आधार तयार पारे । त्यसपछि खेल सकिनै लाग्दा टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयमा पनि अन्तिम मिनेटसम्म दुवै टोलीले निर्णायक अवसर सिर्जना गर्न नसके पनि अन्तिम क्षणमा प्राप्त पेनाल्टी बेल्जियमका लागि निर्णायक बन्यो । यस जितसँगै बेल्जियम विजयी भएर विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब क्वाटरफाइनल पुग्ने लक्ष्यसहित उसले संयुक्त राज्य अमेरिका वा बोस्निया र हर्जगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यता पराजयसँगै सेनेगलको विश्वकप यात्रा भने अन्तिम १६ मा नपुग्दै टुंगिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.