
विराटनगर । पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई)को जिम्मेवार, नैतिक, पारदर्शी र प्रभावकारी प्रयोग सुनिश्चित गर्ने उद्देश्यका साथ ‘पत्रकारितामा एआईको जिम्मेवार प्रयोगका बारेमा विराटनगर घोषणापत्र–२०८३’ जारी गरिएको छ ।
विराटनगरमा शनिबारदेखि सोमबारसम्म आयोजित ‘पत्रकारितामा एआईको प्रयोग सम्बन्धी क्षमता अभिवृद्धि तालिम’मा सहभागी पत्रकार तथा मिडियाकर्मीहरूले संयुक्त रूपमा ११ बुँदे घोषणापत्र जारी गरेका हुन् । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा विराट टाइम्स मिडिया प्रालिले तीन दिनदेखि तालिम आयोजना गरेको थियो । सोमबार घोषणापत्र जारी गर्दै तालिमको समापन गरिएको हो ।
घोषणापत्रमा एआईको सहयोगमा तयार गरिएका सामग्रीमा एआई स्रोत अनिवार्य रूपमा खुलाउने, एआई प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव नै हुनुपर्ने तथा एआईको सहयोगमा उत्पादन तथा प्रकाशन गरिएका सामग्रीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पत्रकार वा सञ्चार संस्थाले नै लिनुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । घोषणापत्रमा एआई पत्रकारको विकल्प नभई सहायक प्रविधि मात्र भएको मान्यता राख्दै समाजमा भ्रम, गलत सूचना, अश्लीलता वा कुनै पनि प्रकारका गैरजिम्मेवार गतिविधि फैलाउने उद्देश्यले एआईको दुरुपयोग नगर्ने र नगराउने प्रतिबद्धता पनि जनाइएको छ ।

सहभागीहरूले आवश्यकता अनुसार मात्र एआई प्रयोग गर्ने, यसको प्रयोगबाट मानव रोजगारी, मानवीयता, सृजनात्मकता, क्रियाशीलता, सत्यता तथा पत्रकारिताको जीवन्ततामा नकारात्मक असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । घोषणापत्रमा सबै सञ्चारकर्मीलाई एआई प्रयोगमा दक्ष बनाउन आपसी ज्ञान आदानप्रदान तथा तालिमलाई निरन्तरता दिने र पत्रकारका लागि आवश्यक एआई आचारसंहिता तत्काल जारी गर्न प्रेस काउन्सिल नेपाल, प्रदेश सरकार तथा नेपाल पत्रकार महासंघलगायत सम्बन्धित निकायसँग माग गरिएको छ ।
त्यसैगरी पत्रकारिताबाहेक शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा व्यवसायलगायत सबै क्षेत्रमा एआईको सही, सुरक्षित र जिम्मेवार प्रयोगका लागि तीनै तहका सरकारसँग समन्वय गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ। एआईको प्रयोगलाई व्यवस्थित बनाउन स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संघसंस्था लगायत सबै सरोकारवालाले एआई साक्षरता, जनचेतना, सिप विकास, शिक्षा, आचारसंहिता निर्माण तथा प्रशिक्षणका कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराइएको छ ।
घोषणपत्रमार्फत पत्रकारितामा एआईको सही र जिम्मेवार प्रयोगसम्बन्धी ज्ञान, सिप र सचेतना प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आयोजक विराट टाइम्स मिडिया प्रालि तथा प्रशिक्षक जीवन भण्डारीप्रति सहभागीहरूले आभार व्यक्त गरेका छन् । तीनदिने तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार, सञ्चारकर्मी तथा मिडियाकर्मी गरेर ५५ जनाको सहभागिता रहेको थियो ।

तालिममा पहिलो दिन एआईको आधारभूत अवधारणा, सम्भावना र चुनौतीका बारेमा सैद्धान्तिक प्रशिक्षण दिइएको थियो भने दोस्रो दिन समाचार संकलन, लेखन, सम्पादन, तथ्य परीक्षण, दृश्य सामग्री निर्माणलगायत क्षेत्रमा प्रयोग हुने विभिन्न एआई उपकरणहरूको प्रत्यक्ष अभ्यास गराइएको थियो । तेस्रो तथा अन्तिम दिन एआईको जिम्मेवार प्रयोगसम्बन्धी छलफल, सहभागीहरूको अनुभव आदानप्रदान तथा ‘विराटनगर घोषणापत्र–२०८३’ जारी गर्दै तालिम सम्पन्न भएको हो । तालिमको सहजीकरण एआई विज्ञ, पत्रकार एवं प्रशिक्षक जीवन भण्डारीले गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले एआई वर्तमान युगको महत्वपूर्ण उपलब्धि भएकाले यसको सही प्रयोगबाट पत्रकारिता मात्र नभएर समग्र समाजले तत्काल लाभ लिन सक्ने बताए । उनले एआईको प्रयोग गर्दा यसको विश्वसनीयता, सुरक्षा र नैतिक पक्षलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै जिम्मेवार ढंगले प्रयोग गर्न सके यसले अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरेका छन् ।

तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै पराजुलीले तालिमबाट सहभागीहरूले व्यवहारिक ज्ञान हासिल गरेको र त्यसले भविष्यमा सकारात्मक प्रतिफल दिने अपेक्षा गरे । मन्त्री पराजुलीले कोशी प्रदेशको समग्र विकास र सुशासनका लागि सरकार, सञ्चारमाध्यम, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।
पछिल्लो समय बढ्दो साइबर अपराध तथा सामाजिक सञ्जालमा देखिने गैरजिम्मेवार गतिविधिप्रति सबै सचेत हुनुपर्ने भन्दै उनले पत्रकारहरूले प्रविधिको प्रयोग गर्दा थप जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए । तालिमका प्रमुख प्रशिक्षक जीवन भण्डारीले आफूले तयार पारेको एआईसम्बन्धी आचारसंहिता तथा घोषणापत्रलाई कोशी प्रदेश सरकारले औपचारिक रूपमा अंगीकार गरी कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गरेका छन् । उनले प्रविधिको विकाससँगै यस विषयमा निरन्तर छलफल, अध्ययन र समयानुकूल परिमार्जन आवश्यक रहने बताए ।

भण्डारीले एआई पत्रकारको विकल्प नभई पत्रकारिताको गुणस्तर, गति र प्रभावकारिता बढाउने सहायक प्रविधि मात्र भएको उल्लेख गर्दै अन्तिम सम्पादकीय निर्णय, तथ्यको प्रमाणीकरण तथा समाचारप्रतिको नैतिक र कानुनी जिम्मेवारी सधैँ मानव पत्रकारकै हुनुपर्नेमा जोड दिएका छन् । आयोजक विराट टाइम्स मिडियाका अध्यक्ष अविनाश निधीका अनुसार तालिमले पत्रकार तथा सञ्चारकर्मीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक प्रविधिमैत्री, गुणस्तरीय, विश्वसनीय र जिम्मेवार पत्रकारिता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
यस्ता छन् घोषणापत्रका बुँदाहरु
१, एआईको सहयोगमा सृजना गरिएका सामग्रीमा एआई श्रोत अनिवार्य रुपमा उल्लेख गर्नेछौँ ।
२, एआईको प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव जनशक्ति नै हुनुपर्नेमा दृढ छौँ ।
३, एआईको सहयोगमा उत्पादन गरी प्रयोग गरिएका सामग्रीको जिम्मेवारी प्रयोगकर्ता पत्रकार वा सञ्चार संस्थाले नै लिने छौँ ।
४, एआई पत्रकारको विकल्प होइन, सहायक मात्र हो भन्ने मान्यता राख्ने छौँ ।
५, समाजमा भ्रम फैलाउने, अश्लीलता जस्ता कुनै पनि काममा एआईको दुरुपयोग नगर्ने नगराउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
६, एआईको प्रयोग आवश्यकता अनुसार मात्रै गर्ने र मानव रोजगारी, मानवीयता, सृजनात्मकता, क्रियाशिलता, सत्यता, जीवन्ततालाई असर नपर्ने तर्फ हरसम्भव ख्याल गर्नेछौँ ।
७, सबै सञ्चारकर्मीहरुलाई एआई प्रयोगमा सिपयुक्त बनाउन एक आपसमा ज्ञान आदानप्रदान तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।
८, पत्रकारहरुका लागि एआई आचारसंहिता तत्काल आवश्यक भएकाले प्रेस काउन्सिल नेपाल, प्रदेश सरकार, नेपाल पत्रकार महासंघ लगायत सबैलाई तत्काल एआई आचारसंहिता जारी गर्न माग गर्दछौँ ।
९, एआईको प्रयोग पत्रकारिताबाहेक अन्य क्षेत्रमा पनि हुने भएकाले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसाय लगायतका सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि तीनै तहका सरकारलाई अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्नेछौँ ।
१०, एआईको प्रयोगलाई व्यवस्थीत गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संघ संस्थालगायत सबै सकारोकारवालालाई एआई साक्षरता, सचेतना, सिप र शिक्षा फैलाउन, आचारसंहिता निर्माण, प्रशिक्षण लगायतका कार्य तत्काल गर्न ध्यानाकर्षण गराउदछौँ ।
११, पत्रकारितामा एआईको सही र जिम्मेवार प्रयोगका बारेमा शिक्षा, सचेतना र सिप प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा सहयोगी निकाय आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश तथा आयोजक विराट टाइम्स मिडिया र प्रशिक्षक जीवन भण्डारीलाई हामी सबै हार्दिक आभार व्यक्त गर्दछौँ ।



















