सुरु भयाे काेलकत्ता-विराटनगर कार्गाे रेल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १२:३५

विराटनगर । विराटनगरमा कस्टर्म यार्ड उद्घाटन भएकाे लामाे समयपछि कार्गाे रेल सेवा सुरु भएकाे छ । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म कार्गो रेल सेवा सुरु भएकाे हाे ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै कार्गो रेल सेवा सुरु भएको हो ।

Advertisement

शुक्रबारदेखि सुरु भएको सेवाअन्तर्गत कोलकाता बन्दरगाहबाट पहिलो रेल र्‍याकमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजको कच्चा पदार्थ बोकेको रेल आउन लागेको हो । सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका थिए ।

रेलमा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनर रहेको बताइएको छ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ, जसले ढुवानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्नेछ ।

कार्गो रेल सेवा सुचारु भएको जानकारी दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कोलकोत्ताबाट हिँडेको रेल आइतबारसम्म विराटनगर आइपुग्ने बताए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका थिए । २०८० जेठमा एउटा कार्गो रेल आएकाे थियाे । त्यसयता सेवा नियमित भएको थिएन ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो ।

कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सारसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो । पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ ।

कार्गो रेल सेवा सञ्चालन भएपछि बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन शुल्क, बिलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्ने बताइएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×