
विराटनगर । खोटाङमा शनिबार साँझ आएको भीषण वर्षापछिको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
खोटाङको दुई फरक स्थानको खहरे खोलामा आएको बाढीमा परेर एक महिला र एक वृद्धले ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय परशुराम परियार रहेको प्रहरीले जनाएको छ ।
छाँगे खोलामा आएको बाढीले शान्ता राईलाई बगाएको थियो । आफन्तको घर गएकी उनी अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा खोलामा मृत फेला परेकी थिइन् । खोला तर्ने क्रममा एक्कासि आएको बाढीले उनलाई बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित गाईखुरे खोल्सीमा आएको बाढीले बगाउँदा ७१ वर्षीय परशुराम परियारको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीले बगाएका परियारको शव फेला परिसकेको छ ।
शनिबार अपराह्नदेखि खोटाङका विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो ।
वर्षासँगै बढेका खहरे खोला र खोल्साहरूका कारण जनजीवन प्रभावित भएको छ । प्रहरीले वर्षातको समयमा खोलानाला आसपास हिँडडुल गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

























