नास्पातीभित्र लुकाइएको ६५२ किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार ०७:५०

सिराहा । सिराहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा बरामद भएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बा २१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा ४६ वटा नास्पातीका क्रेटभित्र बोरामा लुकाइएको गाँजा फेला पारेको हो । प्रहरीका अनुसार बरामद गाँजाको तौल ६५२ किलो रहेको छ । गाडीबाट करिब ९ हजार ९२० किलो नास्पाती पनि नियन्त्रणमा लिइएको छ ।

Advertisement

नास्पातीमा लुकाएर गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ । सिराहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न अनुसन्धानलाई थप विस्तार गरेको छ । बरामद पिकअप, गाँजा र अन्य सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×