करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ११:१२
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । ड्युटीकै क्रममा आन्तरिक विद्युत् लाइन मर्मत गर्दा दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय सुदिम खत्रीको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी एवं एसएसपी महेश केसीका अनुसार बिहीबार साँझ करिब ५ बजे गणभित्रको विद्युत् लाइन मर्मत गर्ने क्रममा खत्रीलाई अचानक करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएका खत्रीलाई तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

मृतक खत्री सशस्त्र प्रहरी सेवामा रहनुका साथै प्राविधिक रूपमा पनि दक्ष थिए । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट विद्युत् सम्बन्धी विशेष तालिम समेत प्राप्त गरेको एसएसपी केसीले बताए । तालिमप्राप्त जनशक्ति भए तापनि काम गर्ने क्रममा भएको यो दुःखद दुर्घटना भयो, उनले भने ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×