मोरङ, धनकुटा र भोजपुरका चार जना युवा इनरुवाबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ०७:२२
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 

विराटनगर । मोरङ, धनकुटा र भोजपुर घर भएका चार जना युवालाई प्रहरीले सुनसरीको इनरुवाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ बसपार्कबाट मोरङको सुन्दरहरैँचा र उर्लाबारी घर भएका दुई जना युवालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले सुन्दरहरैँचा नगरपालिका–१० का २७ वर्षीय राजन उराउ र उर्लाबारी नगरपालिका–४ का ३४ वर्षीय प्रकाश उराउलाई दिउँसो १ बजेतिर पक्राउ गरेको हो ।

Advertisement

पश्चिमबाट पैदल नै पूर्वतर्फ आउँदै गरेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा साथबाट ब्राउन सुगर २२ ग्राम ४५० मिलिग्राम बरामद भएको छ । ब्राउन सुगर बरामद भएपछि दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।

पक्राउ परेकामाथि विस्तृतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

त्यस्तै, इनरुवा बसपार्कबाट धनकुटाको महालक्ष्मी र भोजपुरको हतुवागढीका दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३८ प २३८९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा स्कुटर चालक महालक्ष्मी नगरपालिका–९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार हतुवागढी गाउँपालिका–५ का ३२ वर्षीय रोशन राईको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

लागुऔषध र स्कुटरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×