
विराटनगर । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको गति बढेको छ। यस वर्ष सुरुआती चरणमा मनसुन सुस्त हुँदा गत वर्षको तुलनामा रोपाइँ निकै कम भएको थियो । असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएसँगै रोपाइँको गति बढेको हो ।
असार दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ अभावका कारण कुल रोपाइँयोग्य भूभागको आधा हिस्सामा पनि रोपाइँ हुन सकेको थिएन । तर, असार १५ पछि देशभर व्यापक वर्षा भई साउन पहिलो साता बित्दा नबित्दै रोपाइँ तीव्र बनेको कृषि विभागले जनाएको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार असार अन्तिम साता अघिल्लो वर्षको तुलनामा पछाडि परेको रोपाइँ साउन पहिलो सातासम्म आइपुग्दा अघिल्लो वर्षको प्रतिशतभन्दा अगाडि बढेको छ ।
असार २६ सम्म देशभरका कुल १३ लाख ७० हजार ६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ४९ दशमलव ८१ प्रतिशत अर्थात् ६ लाख ८२ हजार ३७४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको थियो । अघिल्लो वर्ष २०८२ असार २९ सम्म कुल १३ लाख ८३ हजार ७३२ हेक्टरमध्ये ५९ दशमलव २८ प्रतिशत अर्थात् ८ लाख २० हजार २१४ हेक्टरमा रोपाइँ भइसकेको थियो ।
असार अन्तिम सातासम्म सुदूरपश्चिमबाहेक अन्य प्रायः सबै प्रदेशहरूमा २०८२ को तुलनामा २०८३ मा रोपाइँको प्रगति पछाडि थियो । कोशी प्रदेशको रोपाइँयोग्य क्षेत्रमध्ये ३१ प्रतिशतमा मात्रै रोपाइँ भएको थियो, जहाँ २०८२ असार २९ सम्म ४१ दशमलव ३२ प्रतिशत रोपाइँ भइसकेको थियो ।
मुख्य अन्नभण्डार मानिने मधेस प्रदेशमा असार २६ सम्म केवल ३२ दशमलव ७६ प्रतिशतमा रोपाइँ भएको थियो। बागमतीमा पहाडी क्षेत्रको वर्षाका कारण गत वर्षको तुलनामा रोपाइँ केही छिटो भयो । यस्तै लुम्बिनीमा ५९ दशमलव ६० प्रतिशत, कर्णालीमा ६० दशमलव २१ प्रतिशत र सुदूरपश्चिममा ८७ दशमलव ७९ प्रतिशत रोपाइँ भएको थियो ।
असार अन्त्यसम्म सुस्त रहेको रोपाइँ साउन लागेसँगै पूर्ण रूपमा बदलियो । कृषि विभागको साउन ८ सम्मको तथ्याङ्कअनुसार देशभरका कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८३ दशमलव ३० प्रतिशत अर्थात् ११ लाख ३८ हजार ३६३ हेक्टरमा रोपाइँ सकिएको छ ।
२०८२ साउन ११ सम्म देशभर ७८ दशमलव ८४ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष साउन ८ गते नै ८३ दशमलव ३० प्रतिशत रोपाइँ सम्पन्न भई अघिल्लो वर्षको साउन दोस्रो साताको तुलनामा यस वर्ष साउन पहिलो सातामै ४ दशमलव ४६ प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
विशेष गरी मधेस प्रदेशमा मनसुनी वर्षाले रोपाइँको दर उल्लेख्य बढाएको छ । असार २६ सम्म ३२ दशमलव ७६ प्रतिशत मात्र रोपाइँ भएको मधेसमा साउन ८ सम्म आइपुग्दा कुल ३ लाख ८२ हजार ४३३ हेक्टरमध्ये ७८ दशमलव ६० प्रतिशत अर्थात् ३ लाख ५८० हेक्टरमा रोपाइँ सकिएको छ । अघिल्लो वर्ष २०८२ साउन ११ सम्म मधेसमा ५१ दशमलव ८२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

























