
झापा । झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीमा धान चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ५ बजेतिर स्थानीय ५५ वर्षीय नगेन्द्रप्रसाद ओलीको घरमा भण्डारण गरी राखिएको धानको बोरा चोरी गरिरहेको अवस्थामा हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय सोमलाल मुर्मुलाई स्थानीयले फेला पारेका थिए ।
मुर्मुले धानका बोराहरू चोर्दै गरेको देखेपछि स्थानीयले तत्काल प्रहरी खबर गरे । जानकारी प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले मुर्मुलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मुर्मुलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























