
विराटनगर । भारतको बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा नेपालका ज्यो. गोविन्द सापकोटा २ वटा स्वर्णपदकबाट विभूषित भएका छन्।
इलाम नगरपालिका-५ बरबोटेका सापकोटाले प्राचीन खगोलशास्त्र (सिद्धान्त ज्योतिष) विषयमा विश्वविद्यालयमै सर्वाधिक अंक प्राप्त गर्दै ती स्वर्णपदक हासिल गरेका हुन्।
ग्रामीण भेगमा जन्मिएका सापकोटाले कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारी विद्यालयमै पूरा गरेका थिए। त्यसपछि थप अध्ययनका लागि विगत ८ वर्षदेखि भारतको बनारससहित विभिन्न स्थानमा रहेर अध्ययन गर्दै आएका उनी ज्योतिष शास्त्रको अध्ययनमा अब्बल मानिन्छन्।
करिब २८/३० वर्षको उमेरमै दुई वटा स्वर्णपदक प्राप्त गरेर सापकोटाले इलामको मात्र नभई समग्र देशकै नाम उच्च बनाएका छन्।

























