
विराटनगर । मोरङको सुन्दरहरैँचाबाट बन्दुक र गाँजासहित बुधबार राति ९ः१० बजेतिर एक जना पक्राउ परेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलामा लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली खटिएको थियो । गिरी नेतृत्वको टोलीले सुन्दरहरैँचा–१० का ५६ वर्षीय बलबहादुर राईको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भान्साकोठाको माथि लुकाइछिपाइ राखिएको अवस्थामा एउटा भरुवा बन्दुक र घरनजिकै रहको ग्वालीबाट १.५ किलो गाँजा बरामद भएको छ । बन्दुक र गाँजासहित राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ ।
उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























