
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषधको रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३९ बीबी २५६२ नम्बरको स्कुटरलाई शंका लागेर चेक गर्न खोज्दा चालक स्कुटर छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त बेवारिसे स्कुटरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा लुकाई छिपाइ ल्याउँदै गरेको ट्रामाडोल हाइड्रोक्लोराइड १८ हजार ६० वटा क्याप्सुल र डाइसाइक्लोमाइन ट्याब्लेट ६ हजार वटा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको स्कुटर र औषधि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























