
विराटनगर । आज (शुक्रबार) साउन १५ गते, अर्थात् खिर खाने दिन । प्रत्येक वर्ष साउन १५ मा देशभर घरघरमा खिर पकाएर खाने परम्परा छ। वर्षौंदेखि नेपाली समाजमा साउन १५ लाई खिर खाने दिनका रूपमा मनाउने चलन रहँदै आएको हो । वर्षा याममा तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वास छ । दूधको पर्याप्त उपलब्धता र धार्मिक एवं सांस्कृतिक मान्यताले यो परम्परालाई अझ बलियो बनाउँदै लगेको छ ।
असार १५ मा दही–चिउरा खाने चलनजस्तै साउन १५ मा परिवार, आफन्त, इष्टमित्र तथा छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने मौलिक नेपाली संस्कार हो । साउनसम्म अधिकांश खेतीपातीको काम सकिने, गाउँघर हरियालीले भरिने र गाईभैँसीबाट पर्याप्त दूध उत्पादन हुने भएकाले यस समय खिर खाने परम्परा विकास भएको जानकारहरू बताउँछन् ।
संस्कृतमा ‘पायस’ भनिने खिरलाई सात्त्विक भोजनमध्ये उत्कृष्ट मानिन्छ । वैदिक परम्पराअनुसार पितृकार्य, श्राद्ध तथा देवकार्यमा पायसको विशेष महत्त्व रहन्छ । अहिले पनि धेरै सनातन धर्मावलम्बीले श्राद्ध तथा अन्य धार्मिक अनुष्ठानमा गाईको दूधबाट बनाइएको खिर प्रयोग गर्ने परम्परालाई निरन्तरता दिएका छन् ।
साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । शिवलाई दूध तथा दूधबाट बनेका परिकार चढाउने धार्मिक विश्वासका कारण पनि साउनमा खिरको विशेष महत्त्व रहेको मानिन्छ । खिर खानुअघि देवतालाई अर्पण गरेर मात्र खाने चलन अहिले पनि कायम छ । यद्यपि, साउन १५ मै खिर खाने परम्परा सुरु भएको स्पष्ट शास्त्रीय प्रमाण भने उपलब्ध छैन ।
खिर बनाउन चामल, दूध, चिनी, घिउ, सुकमेल, अलैँची, काजु, किसमिसजस्ता सामग्री प्रयोग गरिन्छ । त्यसबाहेक साबुदाना, सेवइ, मकै, गाजरलगायतबाट पनि खिर बनाउने चलन छ । विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर पनि धेरै ठाउँमा लोकप्रिय छ ।
स्वास्थ्यका दृष्टिले पनि खिरलाई पोषिलो परिकारका रूपमा लिइन्छ । दूधमा पाइने प्रोटिन, क्याल्सियम, ल्याक्टोज र आवश्यक पोषक तत्त्वले शरीरलाई ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ । वर्षायाममा तातो खिर खाँदा शरीरलाई आवश्यक पोषण र शक्ति प्राप्त हुने मान्यता समाजमा प्रचलित छ ।
नेपाली बृहत् शब्दकोशले खिरलाई ‘दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस वा तस्मै’ भनेर परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा बनाएर आफन्तसँग बाँड्ने परम्पराले सामाजिक सम्बन्धलाई पनि मजबुत बनाउँदै आएको छ।
यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रूपमा मनाउने निर्णय गरेपछि यो परम्पराले संस्थागत स्वरूपसमेत पाएको छ । यस वर्ष देशभर आठौँ खिर दिवस मनाइँदै छ ।
बोर्डका अनुसार प्रशोधित दूधमा करिब ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३।५ प्रतिशत प्रोटिन हुन्छ । प्रत्येक १०० ग्राम दूधबाट करिब ६० किलोक्यालोरी ऊर्जा प्राप्त हुने भएकाले खिर स्वादसँगै पोषणको राम्रो स्रोत पनि मानिन्छ ।

























