साउनको तेस्रो सोमबार अर्जुनधारा धाममा ४० हजारभन्दा बढीले गरे जलार्पण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ०७:१७
साउनको तेस्रो सोमबार अर्जुनधारा धाममा ४० हजारभन्दा बढीले गरे जलार्पण

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिक स्थल अर्जुनधारा जलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य भीड लागेको छ । ‘पूर्वको पशुपतिनाथ’ का रूपमा परिचित यस धाममा बिहानैदेखि नेपाल, भारत र भुटानका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको घुइँचो लागेको थियो ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म करिब ४० हजारभन्दा बढी भक्तजनले भगवान् शिवको पूजा आराधना र जलार्पण गरेका छन् । ‘अघिल्ला दुई सोमबारको तुलनामा यो पटक भक्तजनको उपस्थिति निकै बढेको छ,’ जोशीले भने, ‘दिनभरि नै धाम परिसर भक्तिमय बनेको थियो ।’
धाममा आउने श्रद्धालुहरूको सुविधाका लागि व्यवस्थापन समितिले विशेष प्रबन्ध मिलाएको थियो । स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, शुद्ध पिउने पानी, सरसफाइ र आकस्मिक स्वास्थ्य सहायताको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
धामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार सामान्य दिनमा दैनिक ५ हजारको हाराहारीमा भक्तजन आउने गरे पनि साउने सोमबार, महाशिवरात्रि र तीजजस्ता पर्वमा भने यो संख्या अत्यधिक बढ्ने गरेको छ । अर्जुनधारा धाम परिसरमा १०८ शिव लिङ्ग, पार्वती मन्दिर, शनि मन्दिर, अर्जुन वाण मूल पोखरी, गौशाला र अन्य थुप्रै धार्मिक संरचनाहरू रहेका छन्, जसले यहाँको गरिमालाई अझ बढाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.