
चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै चितवन जिल्लामा अनलाइन ठगी (साइबर फ्रड) का घटनाहरू तीव्र रूपमा बढेका छन् । गत आर्थिक वर्षमा मात्रै चितवनमा अनलाइनमार्फत १२ करोड २२ लाख रुपैयाँभन्दा बढी ठगी भएको तथ्यांक सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत आवमा अनलाइन ठगीसम्बन्धी ५२१ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनहरूका आधारमा कुल १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको देखिएको छ । ठगिएको रकममध्ये प्रहरीले सक्रियता देखाई २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्ता गराउन सफल भएको छ ।
चितवन प्रहरीका अनुसार ठगहरूले पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमा विभिन्न आकर्षक लिङ्कहरू पठाउने र उपहार परेको प्रलोभन देखाएर ठगी गर्ने गरेका छन् ।
अहिले दैनिक जसो ठगीका निवेदनहरू आउने गरेका छन् । सामान्य २०० रुपैयाँदेखि लिएर लाखौँ रुपैयाँसम्म ठगी भएको उजुरी प्रहरी कहाँ आउने गरेको छ ।
अनलाइन ठगीका अतिरिक्त साइबर अपराध (साइबर क्राइम) सम्बन्धी अन्य घटनाहरू पनि उल्लेख्य छन् । गत आवमा साइबर अपराधका ३९० वटा निवेदन दर्ता भएकामा ३७५ वटा फछ्र्याेट भइसकेका छन् भने १५ वटा प्रक्रियामा छन् । अघिल्लो आव २०८१÷०८२ मा यस्ता निवेदनको संख्या ४११ रहेको थियो ।
अनलाइनमार्फत हुने ठगीबाट बच्न प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा पठाएको ‘फ्रेण्ड रिक्वेस्ट’ स्वीकार नगर्न, प्रलोभन देखाएर पठाइएका अनावश्यक लिङ्कहरू नखोल्न र आफ्नो गोप्य जानकारी कसैलाई नदिन प्रहरीले सचेत गराएको छ ।



















