धनकुटामा ‘रोड फर वाटर’ मोडेल सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १०:१४
धनकुटामा ‘रोड फर वाटर’ मोडेल सुरु

धनकुटा । सडक विस्तारका कारण खानेपानीको मुहान सुक्ने र पहिरो जाने समस्या बढ्दै गएपछि धनकुटा नगरपालिकाले एउटा नवीन समाधान अघि सारेको छ । नगरपालिकाले ‘रोड फर वाटर’ मोडेल लागू गर्दै सडक निर्माण र पानीका स्रोत संरक्षणलाई सँगसँगै लैजाने नयाँ अभ्यास सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका साझेदार संस्थाहरूको सहयोगमा सञ्चालित यो परियोजना अहिले धनकुटा नगरपालिका–८ स्थित त्रिवेणी–याक्चना घाट जोड्ने सडक क्षेत्रमा कार्यान्वयन भइरहेको छ ।

Advertisement

नगरपालिकाका आर्थिक विकास अधिकृत तथा सूचना अधिकारी विकास अधिकारीका अनुसार यो प्रविधिमा सडक निर्माण गर्दा पानीका मुहानलाई असर पर्नुको सट्टा उल्टै त्यसको संरक्षण गरिन्छ । धनकुटा–७ र ८ को सीमा क्षेत्रमा रहेको ‘थाम्बोङ स्वात कुवा’ मा बायो–इन्जिनियरिङ प्रविधिमार्फत रिचार्ज ट्यांकी, पानी संकलन संरचना र बहाव व्यवस्थापन प्रणाली निर्माण भइरहेको छ ।

यस प्रविधिले वर्षाको समयमा सडक कटान रोक्नुका साथै पानीका मुहानमा पुनर्भरण गराई स्रोतलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत पुर्‍याउँछ । यो परियोजनाबाट मुहानमा आश्रित ११७ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नगरपालिकाले यो मोडेल सबैभन्दा पहिले वडा नम्बर १ को हिलेमा परीक्षण गरेको थियो । त्यहाँको सफलतापछि अहिले वडा नम्बर ८ मा विस्तार गरिएको हो । आगामी दसैँअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाले सडकको स्थायित्व र पानीको सदुपयोग दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

यस परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय समुदायको सक्रिय सहभागिता हो । उपभोक्ता समितिमार्फत विशेष गरी महिला र आदिवासी समुदायलाई परिचालन गरिएको छ । उनीहरूलाई पानीका मुहान संरक्षण, स्रोत व्यवस्थापन र बायो–इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा तालिम समेत प्रदान गरिएको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पुग्नेछ ।

नगरपालिकाले यस मोडेललाई दीर्घकालीन रणनीतिको रूपमा अपनाउने योजना बनाएको छ । सडक निर्माणका कारण जोखिममा परेका अन्य मुहानहरूमा पनि क्रमैसँग यो प्रविधि लागू गरिने सूचना अधिकारी अधिकारीले बताए ।

विकास र वातावरणबिच सन्तुलन कायम गर्ने यो प्रयास सफल भएमा अन्य स्थानीय तहका लागि पनि यो एक अनुकरणीय र नमुना मोडल बन्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.