
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभागमा वर्षाको सम्भावना बढेको हो।
महाशाखाका अनुसार अहिले देशभर साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानहरू र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, र कर्णाली एवं सुदूरपश्चिमका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर बदलीकै अवस्था रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेशका विभिन्न भागमा मध्यम वर्षा हुनेछ ।
महाशाखाले रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ ।
भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र तराईका क्षेत्रमा डुबान एवं नदी तटीय क्षेत्रमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । साथै यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।



















