ज्योतिले सरकारसँग १९ बुँदे सहमतिपछि अनसन तोडिन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०७:४७
ज्योतिले सरकारसँग १९ बुँदे सहमतिपछि अनसन तोडिन 

काठमाडौं । मंगलबार राति सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति भएपछि पेसागत सुरक्षालगायतको माग राख्दै आएका नर्सहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नर्सहरूको पेसागत सुरक्षाको माग लिएर अनशनरत नर्स र सरकार बिच १९ बुँदे सहमति भएपछि नर्स अभियन्ता ज्योति रानाभाटले अनशन तोडेसँगै आन्दोलन फिर्ता भएको हो ।

मंगलबार राति दुवै पक्षबीच भएको वार्तामा उक्त सहमति भएको हो । नर्सहरूको पेसागत सुरक्षा तथा अधिकारको लागि नर्स अभियन्ता ज्योति रानाभाट साउन १४ गते आमरण अनशन सुरु गरेकी थिइन् । गत वर्ष सम्पन्न आन्दोलनपछि सरकारले नर्सहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि लागू नभएपछि नर्सहरू पुनः आन्दोलनमा उत्रिएका थिए । मंगलबार राति सम्पन्न वार्तापछि गत वर्ष सहमति भएका मागहरू र केही नयाँ माग सम्बोधनसहित १९ बुँदे सहमति भएको छ ।

Advertisement

सरकारको तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट हेमन्तचन्द्र ओझा, कानुन अधिकृत जयप्रकाश सुवेदी र नर्सको तर्फबाट ज्योति रानाभाटको हस्ताक्षर र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव संगीता मिश्र, प्रमुख सल्लाहकार मनोहर प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी स्वकीय सचिव प्रगति ढकाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको रोहबरमा सहमति भएको हो ।

सरकारी प्रतिष्ठान निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडिवाइफ लगायत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गरी कम्तीमा ६ महिनाभित्र कार्य सम्पन्न गर्ने सहमति भएको छ ।
अन्य सहमतिहरूमा छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफहरुको योग्यता र विशेषज्ञता अनुसारको तह, जिम्मेवारी, सेवा–सुविधा, तथा नेतृत्वको अवसर समेटिने गरी नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७२ लाई ३० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन गर्ने उल्लेख छ ।

राष्ट्रिय नर्सिङ तथा मिडवाइफ रणनीति २०७७/०७८ देखि २०८७/८८ बमोजिम सहायक नर्स–मिडवाइफ (अनमी) हरुलाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ मिडवाइफ्री अध्यययनका लागि छात्रवृत्तिको सुनिश्चित गर्न खेलकुद तथा शिक्षा मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, प्रमाणपत्र र नर्सिङ तथा मिडवाइफ कार्यक्रममा भर्ना प्रयोजनका लागि आगामी शैक्षिक सत्रदेखि प्रवेश परीक्षाको नीति कायम गर्न शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई निर्देशन दिन खाद्य तथा स्वच्छ मन्त्रालयले दुई दिनभित्र अनुरोध गर्ने सहमति भएको छ ।

त्यसैगरी, सम्पूर्ण अस्पतालहरूमा नर्सिङ प्रक्रिया, नर्सिङ केयर योजना, नर्सिङ डकुमेन्टेशन, नर्सिङ मूल्यांकन,औषधि व्यवस्थापन, संक्रमण नियन्त्रण, बिरामी सुरक्षा, प्रतिकुल घटनाहरु तथा नियमित नर्सिङ तथा मिडवाइफ अडिट अनिवार्य रूपमा लागू गर्ने र सोको प्रतिवेदन आफ्नो वेबसाइटमा राख्ने विशिष्टीकृत प्रतिष्ठानहरूलाई मन्त्रालयले एक हप्ताभित्र सूचना प्रणालीमा नियमित गर्ने उल्लेख छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को प्रावधान बमोजिम सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा सम्मानजनक प्रसूति सेवाको अडिट गर्ने व्यवस्था मिलाउन र कडाइका साथ कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र परिपत्र गर्ने सहमति भएको छ ।

अन्य सहमतिहरूमा नर्सिङ तथा मिडवाइफ शिक्षाको गुणस्तर अनुसन्धान, निरन्तर व्यावसायिक विकास, नेतृत्व विकास, प्रमाणमा आधारित अभ्यास, विशेषज्ञ विशेषज्ञता तथा गुणस्तरलाई राष्ट्रिय प्राथमिकताका साथ संस्थागत गरी वार्षिक बजेट तथा कार्यक्रममा अद्यावधिक गर्ने लगायत सहमति भएको छ ।

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?
ग्यास अभाव हुन नदिन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
राष्ट्रिय कृषि नीति जारी: आत्मनिर्भर र आधुनिक कृषि प्रणालीमा जोड
झापाको अर्जुनधारामा सुकुम्बासीलाई पुर्जा वितरणको तयारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, एक बेपत्ता
स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गर्ने ३९ म्यानपावर कारबाहीमा
सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति संसदीय समितिको चासो
इलाममा मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
२०७ किलो गाँजासहित एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.