
विराटनगर । मोरङको सुनवर्षीमा छिमेकीबाटै नाबालिकाको हत्या भएको पत्ता लागेको छ । सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको साउन ८ गते साँझ हत्या भएको थियो ।
हत्यामा संलग्न भएको आरोपमा छिमेकी ५९ वर्षीय जान मोहमद मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले बुधबार दिउँसो मन्सुरीलाई पक्राउ गरेको हो ।
नाबालिकाको हत्या आरोपमा पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नो बारीमा अम्बा खान आएको भन्दै इँटाले हानेर नाबालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
नाबालिका र मन्सुरीको घर करिब दुई सय मिटर मात्रै टाढा रहेको प्रहरीले जनाएको छ । ‘परिस्थितिजन्य प्रमाणका आधारमा हत्यामा उनकै संलग्नता रहेको पत्ता लाग्यो । मन्सुरीले घटना स्वीकार पनि गरिसकेका छन् । आफ्नो बारीमा रहेको अम्बा खान नाबालिका आएको ठानेर इँटाले हानेर हत्या गरेको पत्ता लागेको छ । थप कुरा अनुसन्धानबाट खुल्दै जान्छ,’ एसपी कटवालले भने ।
हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा साउन ८ गते साँझ ७ः३० बजेतिर नाबालिकाको शव फेला परेको थियो । नाबालिका त्यही दिन अपरान्ह ४ बजेदेखि हराएकी थिइन् ।
खोजी गर्ने क्रममा हत्या गरेर फालेको तथा निधार र कन्चटमा गहिरो चोट रहेको अवस्थामा शव घन्सीबारीमा फेला परेको हो । शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरी मन्सुरीसम्म पुग्न सफल भएको हो ।

























